वैशाख २४ चितवन । उच्च शिक्षा अध्ययनका लागि पोखरा पुग्नुभएका अर्घाखाँचीका ओमप्रकाश पाण्डेलाई अहिले पर्यटन व्यवसाय फलिफाप भएको छ । पर्यटकीय सहर पोखरामा ‘कमाउँदै–पढ्दै’ गर्नेक्रममा २०४५ सालमा होटलबाट काम सुरु गर्नुभएका पाण्डे स्थापित पर्यटन व्यवसायी बन्न सफल भएका छन् ।
पोखरास्थित होटलको आंशिक रोजगारीबाट यस क्षेत्रमा प्रवेश गर्नुभएका पाण्डे अहिले छ वटा होटलको मालिक बनी सबैको प्रेरणाका स्रोत बन्नुभएको छ । पोखराका होटल तथा ट्राभल एजेन्सीमा काम गरेको ज्ञान, सीप, अनुभव र सम्पर्कलाई सदुपयोग गर्दै अघि बढ्नुभएका पर्यटन व्यवसायी पाण्डेले अहिले यस क्षेत्रमा धेरै जनालाई रोजगारी दिइरहनुभएको छ ।
विसं २०२२ मा जन्मिनुभएका पाण्डेले अर्घाखाँचीस्थित स्थानीय विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) सम्मको अध्ययन गर्नुभयो । उच्च शिक्षा अध्ययनका क्रममा पृथ्वीनारायण क्याम्पस, पोखरा पुग्नुभएका उहाँले विज्ञानमा स्नातकसम्मको अध्ययन गर्नुभयो ।
विद्यार्थीकालमा होटलमा तीन वर्ष काम गर्दाको अनुभवले उहाँ आत्मविश्वासका साथ यस क्षेत्रमा आकर्षित बताउनुहुन्छ । सुरुमा रु एक लाख ५० हजार लिएर पोखरामा भाडामा होटल सञ्चालन गर्न थाल्नुभएका उहाँले विभिन्न आरोहअवरोहका बीच चार वटा होटल चलाउनुभयो । कहिले कमाइ गर्नुभयो त कहिले गुमाउनुभयो । उहाँले भन्नुभयो, “होटल चलाउँदै गर्दा पहिला किनेको घडेरी बेचेर ऋण पनि तिर्नुप¥यो । पछिल्लो होटलले राम्रै कमाइ ग¥यो भने ट्राभल एजेन्सीबाट पनि मनग्गे नाफा भयो ।”
भाडामा होटल चलाउँदै आउनुभएका पाण्डेले २०६२ सालमा केही नगद र बैंक ऋण गरेर पोखराको लेकसाइडमा होटल ल्याण्डमार्क किन्नुभयो । जम्मा रु एक करोड ५० लाखमा किनेको २३ कोठे उक्त होटललाई विस्तार गर्दै अहिले १०० कोठाको चार तारे होटलमा स्तरोनन्ति गरिएको छ ।
होटल व्यवसायतर्फको उहाँको यात्रा निरन्तर अघि बढिरह्यो, यसैक्रममा पर्यटकीयस्थल चितवनको सौराहामा पनि २०६७ सालमा जग्गा किनेर होटल निर्माण गरी आफ्नो व्यवसायलाई थप विस्तार गर्नुभयो । सौराहामा २०७१ सालदेखि ७५ कोठाको ल्याण्डमार्क होटल सञ्चालन गर्दै आउनुभएका पाण्डेको अहिले काठमाडौँ, दरबारमार्गमा पनि ल्याण्डमार्क होटल सञ्चालनमा छ ।
क्षेत्रीय होटल सङ्घ, सौराहाका उपाध्यक्ष गुणराज थपलिया पाण्डे आफैँ साहु र कामदारको भूमिकामा रमाउन सकेकाले यस व्यवसायमा सफल भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिले पनि उहाँको सिङ्गो परिवार तनमनका साथ काममा खटेकै देखिन्छ, इमानका साथ निरन्तर खटे सफल भइन्छ भन्ने यथार्थलाई कर्मले प्रमाणित गर्नुभएको छ ।” निरन्तरको सङ्घर्षका कारण पाण्डे सफल व्यवसायी बन्नुभएको भन्दै उपाध्यक्ष थपलिया एउटै बाबुका छोरा–बुहारी, नाति–नातिना सबै मिलेर पेसाप्रति समर्पित हुनु उदाहरणीय काम भएको बताउनुहुन्छ ।
यसैगरी गत वर्षबाट भैरहवाको एक होटलमा उहाँले व्यवस्थापन हेर्दै आउनुभएको छ । यस्तै यसै महिनाबाट भरतपुरको होटल रोयल सेञ्चुरीलाई भाडामा लिएर नारायणी ल्याण्डमार्कको नामबाट सञ्चालन गर्न सुरु गर्नुभएको छ भने तनहुँको देवघाटमा पनि अर्को होटल भाडामा लिएर ल्याण्डमार्क फार्म हाउस नामबाट सञ्चालन गर्नुभएको छ ।
वीरगञ्ज, जनकपुर र नगरकोटमा पनि सकभर होटल सञ्चालन गर्ने त्यो सम्भव नभए व्यवस्थापन हेर्ने गरी छलफल अघि बढिरहेको उहाँले बताउनुभयो । पर्यटन व्यवसायी पाण्डेले सञ्चालन गरेका होटलहरुमा अहिले ३५० कोठा क्षमता छ भने झण्डै ५०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्षसमेत रहनुभएका पाण्डे यसअघि सङ्घको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ ‘नेपाल टुर एण्ड ट्राभल’ गण्डकी प्रदेशको अध्यक्ष भइसक्नुभएको छ ।
परिवारका सदस्यहरूलाई सँगै लिएर यस क्षेत्रमा होमिनुभएका पाण्डेका तीन दाजुभाइ होटल व्यवसायमा सँगै हुनुहुन्छ । त्यसो त तीन दाजुभाइका तीन छोरा पनि प्रत्यक्षरुपमा यही व्यवसायमा जोडिनुभएको छ ।
उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनको पर्यटन व्यवसायको प्रवद्र्धन, रोजगारी सिर्जना र समाज सेवाका क्षेत्रमा पर्यटन व्यवसायी पाण्डेको अतुलनीय योगदान रहेको बताउनुभयो ।
स्थानीय होटल व्यवसायीका अनुसार गाउँको सामान्य परिवारमा जन्मेका पाण्डे दृढ इच्छाशक्ति भएका, सदैव सकारात्मक सोच राख्ने, श्रमलाई सम्मान गर्ने, स्वप्नद्रष्टा एवं कर्मशील पर्यटन व्यवसायी हुनुहुन्छ । मुलुकको पर्यटन व्यवसायमा समर्पित पाण्डेको पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान रहको होटल सङ्घ सौराहाले जनाएको छ ।
परिश्रमलाई सम्मान गर्ने, निरन्तरको कर्म, दृढ इच्छाशक्ति, व्यावसायिक घरानामा जन्म नभए पनि अनुभव बटुल्दै निरन्तरको सङ्घर्षबाट पाण्डे सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ । होटल व्यवसायमा उतारचढाव आइरहने र निष्ठाका साथ लागि रहे सफल भइने पाण्डे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “व्यवसायमा आजको आजै मुनाफा हुँदैन, कुर्न सक्नुपर्छ ।” नेपालमा केही हुँदैन, विदेशै जानुपर्छ भन्नेहरूका लागि अर्घाखाँचीको सामान्य परिवारमा जन्मेका होटल तथा पर्यटन व्यवसायी पाण्डे उदाहरणीय पात्र हुनुहुन्छ । रासस