नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुतीकरण सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो । राजनीतिक प्रतिवेदनपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नु हुने कार्यक्रम छ ।
त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नु हुने महासचिव पोखरेलले जानकारी दिनुभयो ।
त्यसपछि स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मतको दस्तावेज प्रस्तुत गर्नुहुने भएको छ । विभिन्न १० समूह विभाजन गरी प्रस्तुत प्रतिवेदनहरुमाथि छलफल गरिने छ । गोदावरीमा जारी तीनदिने विधान महाधिवेशनमा दुई हजार २६ प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।