शुक्रबार, भदौ २१ गते २०८२

जलवायु सङ्कटमा मुस्ताङ

जलवायु सङ्कटमा मुस्ताङ

अखबार दैनिक
शुक्रबार, भदौ २१ २०८२
  • जलवायु सङ्कटमा मुस्ताङ

    विश्वमै जलवायु परिवर्तन असर एक चिन्ताको विषय बनिरहँदा नेपालका हिमाली जिल्लाहरु यसको प्रत्यक्ष÷परोक्ष मारमा पर्दै आइरहेका छन् । हिमाली जिल्लाहरुमा मौसमी तापमान दर बर्सेनि वृद्धि भइरहेको छ । जलवायुको असर हिमाली जिल्लाहरुमा देखिँदै गर्दा मुस्ताङमा जलवायु परिवर्तनको असरका कारण यहाँको वातावरणीय सन्तुलन तथा पारिस्थितिक प्रणालीमा नराम्ररी प्रभावित तुल्याएको छ ।

    दश वर्षअघिसम्म यहाँ हिउँदयामको अनुकूल समयमा हिउँ पथ्र्यो । हिउँले यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका डाँडाकाँडा र बस्ती सबै हिउँले पूरै सेताम्मे हुन्थे । यहाँ हिउँद यामको पुस र माघ महिनामा तल्लो मुस्ताङमा दुई फिट र उपल्लो मुस्ताङमा पाँच फिटसम्म हिउँ परेको थियो । २०७५ सालमा हिउँदयाममा अत्यधिक हिउँ पर्दा उपल्लो मुस्ताङमा सयौँ याक चौँरी, भेडाच्याङ्ग्राहरु खर्क र गोठमै हिउँले पुरिएर मरे । तल्लो मुस्ताङको नमखुलेंक र थासाङको विभिन्न खर्कहरुमा पनि स्थानीयका दर्जनौँ याकचौँरी हिउँमा पुरिएर मरेका थिए । त्यतिबेला हिमपातले क्षति पुगेका पशुपालक किसानलाई सम्बन्धित स्थानमै पुगेर गण्डकी प्रदेश सरकारले आंशिक राहत वितरण गरेको थियो ।

    हिउँ पर्दा पनि सास्ती, हिउँ नपर्दा पनि सास्ती यहाँका बासिन्दाले भोग्नु परेको एक ज्वलन्त समस्या र चुनौती हो । हिउँदयाममा उपल्लो मुस्ताङका बासिन्दा हिउँ र अत्यधिक चिसो छल्न तल झर्ने सदियौँ वर्षदेखिको प्रचलन हो । अत्यधिक चिसो र हिमपातको असरले उपल्लो मुस्ताङका बासिन्दाको जनजीवन निकै कष्टपूर्ण हुन्थ्यो । चिसो र हिउँका कारण घरका सेफ्टी ट्याङ्की, धारा र सिँचाइ कुलो जमेर बरफ बन्थ्यो । उपल्लो मुस्ताङमा कात्तिक महिनादेखि फागुनको अन्तसम्म चरणबद्ध रुपमा हिउँ पर्ने गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङ बताउनुहुन्छ ।

    यहाँ जलवायु परिवर्तनका कारण कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात हुने र कुनै वर्ष हिमपात हुन सकेको छैन । पृथ्वीको तापमान वृद्धिसँगै मुस्ताङका शाखा नदीहरुमा विपद् जोखिमको उच्च सम्भावना बढेको छ । यहाँका शाखा नदीका मुहानहरुमा हिउँ पग्लिएर वा हिउँका ढिस्का खसेर ठूलो लेदो र गेग्र्यानसहित बाढी आउने गरेका कारण कागबेनीमा ठूलो बाढी आयो । बाढीले कोरला सडकको निर्माणाधीन पक्की पुलसहित कागबेनीका आधा दर्जन बढी घरहरुमा ठूलो क्षति पुग्यो । बाढीले कागबेनी श्राद्धस्थल, स्याउबारीमा क्षति र पशु चौपाया बगाउँदा करोडौँको नोक्सानी पु¥यायो ।

    थासाङ क्षेत्रमा पटकपटक हिउँपहिरो जाने क्रम रोकिएको छैन । हिउँपहिरो जाने क्रमले त्यस क्षेत्रको चरन क्षेत्र तथा थासाङ क्षेत्रका केही बस्ती हिउँ पहिरोको उच्च जोखिममा छन् । दुई वर्षअघि मार्फास्थित बागवानी केन्द्र नजिकैको सानो खोलामा भेल बाढी आउँदा फार्मका खेतीयोग्य स्याउ बारीमा लेदो र गेग्र्यान पसेर क्षति पु¥याएको थियो ।

    यसै वर्ष साउनको पहिलो र तेस्रो साता थासाङको लाङ्की खोलामा हिउँ पग्लिएर ठूलो भेल बाढी आयो । बाढीले मानवीय तथा भौतिक क्षति नपु¥याए पनि त्यहाँका लार्जुङ बस्तीलाई त्रासदी उत्पन्न गरायो । त्यहाँ गाउँपालिका र प्रशासनको समन्वयमा खोलामा डोजर लगाएर खोलाको धारलाई नियन्त्रणमा ल्याइयो । गत असारमा उपल्लो मुस्ताङको लोमान्थाङ—४ समजुङ माथिको लेकबाट अकस्मात छुआमा खोलामा भेल बाढी आयो । त्यहाँ बाढीले सडक मोटर बाटो, पुल र सिँचाइ कुलोलगायतमा क्षति पु¥यायो । त्यहाँका बाढीले मुस्ताङस्थित कालीगण्डकी नदीको तटीय बस्ती र म्याग्दीको कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई समेत बाढीले त्रासदी उत्पन्न गरायो । यसै वर्ष घरपझोङ गाउँपालिका—५ स्थित ढुम्बा खोलामा बाढी आउँदा जङ्गलमा च्याउ टिप्न जाँदै गरेका एक युवालाई बाढीले बगायो भने बाढीले झन्डै २०० स्याउका बोटमा क्षति पु¥यायो ।

    यति मात्रै होइन, बाढीले जोमसोम—कोरला सडकमार्ग समेत बाढीपहिरोले पटकपटक सडक अवरुद्ध भयो । हिमाल पग्लिएर हिउँका ढिस्कासहितको भेल बाढी आउँदा यहाँ कालीगण्डकी नदीभन्दा बेसी यहाँको शाखा नदीको विपद् जोखिम बढेको घरपझोङ—५ का कृषक कर्मा गुरुङले बताउनुभयो । जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्नु र पृथ्वीको तापमान वृद्धि हुँदै गर्दा यहाँका नीलगिरि, धौलागिरिलगायतका हिमालहरुको सौन्दर्यता घट्दै जान थालेको छ । यहाँका हिमालमा हिउँ पग्लिँदै गर्दा हिमालहरु बर्सेनि कालापत्थरमा परिणत हुँदै जान थालेका छन् ।

    यसैगरी, जलवायु सङ्कटका कारण यहाँको कृषि, पर्यटन, जैविक विविधता, धर्म, संस्कृति र वातावरणीय क्षेत्रमा प्रतिकूल असर पर्दै जान थालेका छन् । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र प्रमुख डा लालमणि अर्यालका अनुसार जलवायु सङ्कटका कारण यहाँका परम्परागत पशुपालन व्यवसाय सङ्कटमा पर्दै जान थालेको उल्लेख गर्नुभयो । अनुकूल समयमा हिउँ नपर्ने र बेमौसममा वर्षा हुने गर्दा यहाँको चरन क्षेत्र खुम्चिँदै जान थालेको उहाँको भनाइ छ । हिउँ नपर्दा उच्च लेकमा घाँस पलाउन छाडेको र बेमौसमे वर्षाले चरन क्षेत्रमा अनधिकृत घाँस पलाउन थालेकाले पशु आहार व्यवस्थापनमा समस्या थपिएको छ ।

    वारागुङ—४ तिरीका पशुपालक किसान आङ्ग्या गुरुङले यहाँ चरन क्षेत्रको समस्या पर्दा गाउँमा कुनै पनि घरधुरीले २०० भन्दा बढी च्याङ्ग्रापालन गर्न नपाइने नियम कार्यान्वयनमा आएको बताउनुभयो । “गाउँमा सबैका धेरै थोरै च्याङ्ग्रा छन् तर चरन क्षेत्र खुम्चिँदैछ,” उहाँले भन्नुभयो, “घाँसको अभाव हुने भएकै कारण च्याङ्ग्रापालन समितिबाटै यस्तो निर्णय भएको हो, धेरै च्याङ्ग्रा पाल्छु भन्नेलाई यहाँ समस्या देखिएको छ ।”

    जलवायुकै कारण यहाँको कृषि क्षेत्रमा समेत निकै ठूलो समस्या र चुनौती थपिँदै जान थालेको कृषकहरु बताउँछन् । जमिनको तापमान बर्सेनि वृद्धि हुँदै जाँदा यहाँ उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारी उत्पादनले विस्तारै बसाइँ सर्दै जान थालेको छ । यहाँ बढ्दो तापमान वृद्धिका कारण स्याउलगायतका अन्नबालीहरुमा विभिन्न रोगकिराहरुको सङ्क्रमण बढ्दै जान थालेको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख राजेश गुरुङ बताउनुहुन्छ । तापमान वृद्धिले स्याउखेतीमा यसको प्रत्यक्ष असर देखिन थालेको उहाँको भनाइ छ । यहाँ जलवायुका कारण बेमौसमे वर्षा हुने र अनुकूल समयमा हिउँ नपर्दा स्याउलगायतका अन्नबालीहरुमा रोगको प्रकोप चुलिँदै जान थालेको उहाँको भनाइ छ ।

    जलवायु परिवर्तनका कारण शीतोष्ण फलफूल तथा बालीहरु विस्तारै बसाइँ सर्ने क्रममा रहेकाले शीतोष्ण बागवानी विकास केन्द्रले उपल्लो मुस्ताङको घमीमा ‘स्याटलाइट’ कृषि फार्म स्थापना गर्ने तयारी अन्तिम चरणमा पु¥याएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । जलवायुका कारण यहाँको तल्लो भेगमा समशीतोष्ण तथा उपल्लो मुस्ताङमा शीतोष्ण फलफूल तथा तरकारीहरु उत्पादन तथा बिक्री वितरण गर्ने गरी फार्म स्थापनाको तयारी भइरहेको उहाँको भनाइ छ ।

    यसैगरी, जलवायु सङ्कटका कारण हिमाली जिल्लामा संस्कृति र मौलिक परम्परामा समेत असर पु¥याउँदै जान थालेको छ । यहाँका सदियौँ वर्ष पुरानो ढुङ्गा र माटोले निर्मित एकापसमा जोडिएका परम्परागत घरहरु विस्तारै लोप हुने अवस्थामा छन् । ढुङ्गा र माटोले बनेका घरहरु, त्यसका छतमाथि लस्करै दाउरा पाँजेर राख्ने प्रचलन यहाँको सांस्कृतिक धरोहरका रुपमा लिने गरिन्छ ।

    पानी नै नपर्ने जिल्ला भनेर चिनिने मुस्ताङमा पछिल्लो समय बेमौसमे वर्षा हुने गर्दा पुरानो घरहरु कमजोर बन्दै जान थालेको जोमसोमका स्थानीयवासी अजित थकाली बताउनुहुन्छ । पछिल्लो समय जलवायु सङ्कटका कारण ढुङ्गा र माटोका घरहरु जोखिम देखिएको र सडक यातायातको सहजतासँगै यहाँ पुराना घरहरु विस्थापित हुँदै आधुनिक घर र बङ्गलाहरु निर्माण हुने क्रम बढेको थकालीले उल्लेख गर्नुभयो । यसले यहाँको पुरानो मौलिक संस्कृतिमा असर पु¥याउँदै जान थालेकाले पर्यटन प्रर्वद्धन र विकासमा समेत क्षति तुल्याउने देखिएको उहाँको भनाइ छ ।

    यसैगरी, जलवायु सङ्कटका कारण वातावरणीय क्षेत्रमा प्रतिकूल असर पु¥याउँदै जान थालेपछि यहाँको जैविक विविधतामा समेत असर पुगेको देखिन्छ । यसका कारण हिमाली क्षेत्रको जैविक विविधतामा असर पुगेपछि यहाँको वन्यजन्तुहरु लोपोन्मुख हुन थालेका छन् । हिउँचितुवाको आहारा नाउर चरन क्षेत्रमा पर्याप्त घाँस नहुँदा बस्ती नजिक आउने गरेको र त्यसलाई पछ्याउँदै हिउँचितुवा बस्ती नजिक आउने गरेको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले बताउनुभयो । उहाँले यसका कारण हिउँचितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएकाले यहाँका पशुपालन व्यवसायमा चुनौती थपिएको उहाँको भनाइ छ । पछिल्लो समय यहाँ हिमालको काखमा बासस्थान जमाएर बस्ने हिउँचितुवा बस्ती र सडक छेउछाउमा देखिन थालेको छ ।

    हिमाली क्षेत्रहरुमा जलवायुको असर बढ्दै जान थालेपछि यहाँको विभिन्न क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुको यथोचित अनुकूलनका उपाय अवलम्बन गर्न मुख्य चुनौती भइरहेको छ । जलवायु सङ्कटले भविष्यमा मुस्ताङले योभन्दा ठूला जोखिमहरु आउनसक्ने भयले स्थानीयवासी त्रसित छन् । अन्तरराष्ट्रियस्तरमा उपलब्ध हुने जलवायु क्षतिको यथोचित हिस्सा मुस्ताङले पाउनुपर्ने यहाँका बासिन्दाको माग रहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार