मनास्लु पदमार्गमा ढुंगाले लागेर एक स्वदेशी पर्यटक गम्भीर घाइते भएका छन् । सामागाउँबाट फर्कने क्रममा बिहीबार बिहान चुमनुब्री गाउँपालिका–५ बिही नजिकै माथिबाट खसेको ढुंगाले लागेर काठमाडौंको टोखा नगरपालिका–६ का ४४ बर्षीय मिनुइन्द्र लम्साल घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउँकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
‘हिँडिरहेको अवस्थामा बाटोमाथिबाट एक्कासी ढुंगा खसेर लागेछ,’ उनले भने, ‘उनीहरूसँग गएका साथीहरूले खबर गरेपछि इलाका प्रहरी कार्यालय लार्केबाट हाम्रो टोली त्यहाँ पुगेको हो ।’ बिही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीसहित प्रहरी घटनास्थल पुगेको उनले जानकारी दिए । हेलिकप्टरबाट उद्धारका लागि पहल भए पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर उड्न नसकेको बताइएको छ ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                    