अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील संस्था करुणा फाउण्डेसन नेपालले देशभरका ४२८ जनालाई कृत्रिम हात वितरण गर्ने भएको छ ।फाउन्डेशनले आज एक विज्ञप्ति जारी गरी जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्यमा सञ्चालन हुने सहयोग अभियानअन्तर्गत पहिलो चरणमा कोशी प्रदेशमा निःशुल्क कृत्रिम हात वितरण गर्न लागिएको जनाएको छ ।
फाउण्डेसनका सह निर्देशक दिनेश ढकालले यही कात्तिक १७ गतेदेखि २६ गतेसम्म कोशी प्रदेशको इटहरीमा कार्यक्रम सञ्चालन हुने र त्यस क्रममा २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने बताउनुभयो । हालै कृत्रिम हातको आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेकामा देशभरका ४२८ जना सूचीकृत भएका जनाउँदै उहाँले पहिलो चरणमा कोशी प्रदेशका लाभग्राहीहरूलाई प्राथमिकता दिइएको बताउनुभयो ।
यस्ता लाभग्राहीमा भोजपुरका १०, इलामका तीन, झापाका ६१, खोटाङका २५, मोरङका १४, ओखलढुङ्गाका १९, पाँचथरका २२, सोलुखुम्बुका आठ, सुनसरीका आठ, तेह्रथुमका दुई र उदयपुरका २५ जना रहेका फाउण्डेशनले जनाएको छ ।
“यसरी वितरण तथा जडान गरिने हात हल्का, सहज र प्राकृतिक देखिने खालका छन् । कृत्रिम हात पाएका व्यक्तिहरूले खाना पकाउने, लेख्ने, वस्तु समात्ने, कपडा लगाउने, खेतीपाती तथा व्यावसायिक कामहरूमा सहजता पाउनेछन्”, सह निर्देशक ढकालले भन्नुभयो, “पहिलो चरणमा कोशीमा सुरु हुने कार्यक्रममा प्रत्येक दिन २० देखि २५ जना लाभग्राहीलाई दुई समूहमा विभाजन गरी हात जडान गरिनेछ । यस कार्यका लागि जर्मनी, न्युजिल्याण्ड र युगान्डाका विज्ञहरूको टोली नेपाल आउँदैछ ।”
फाउण्डेसनले यस अभियानले हात गुमाएका व्यक्तिलाई पुनः आत्मबल र आत्मनिर्भर जीवनतर्फ फर्काउन मद्दत पुर्याउने विश्वाससमेत लिइएको जनाएको छ । नेपालमा हरेक वर्ष दुर्घटना, करेन्ट, सङ्क्रमण वा अन्य कारणले हात गुमाउने व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको र हाल देशभर करिब ५० हजारभन्दा बढी व्यक्तिले विभिन्न प्रकारका कृत्रिम अङ्ग प्रयोग गरिरहेको पनि फाउण्डेसनले उल्लेख गरेको छ । रासस
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                    