सोमबार, असोज १९ गते २०८३

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

अखबार दैनिक
मंगलबार, असोज ६ २०८३
  • सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    महेन्द्रनगर, ६ असोजः नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका छ पहाडी जिल्लामा मिर्गाैलाका बिरामीले अझै पनि ‘डायलासिस’ सेवा पाउन सकेका छैनन् । यहाँका सात पहाडी जिल्लामध्ये डडेल्धुरा अस्पतालमा पाँच शय्याको मिर्गाैला ‘डायलासिस’ सेवा सञ्चालनमा छ । भने बाँकी ६ जिल्लाका मृगौा पीडित बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ ।    
        
    पाँच शय्या रहेको डडेल्धुरामा ३० जनाले डायलासिस सेवा लिइरहेको अस्पतालले जनाएको छ । यहाँका पहाडी जिल्लाका मृगौला पीडित बिरामी उपचारका लागि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरका साथै भारतका विभिन्न अस्पतालसमेत धाउनुपर्ने बाध्यता छ ।    
        
    तराईको दुई जिल्ला र डडेल्धुरामा ‘डायलासिस’ सेवा रहेपनि चाप अत्यधिक हुँदा बिरामीले सहज रुपमा सेवा नपाउने स्थिती रहेको छ । कैलालीको सेती प्रादेशिक, कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक र टीकापुर प्रादेशिक अस्पतालले मृगौलाका बिरामीलाई ‘डायलासिस’ सेवा प्रदान गरिरहेको भए पनि उनीहरुले उपचारका लागि महिनौँ कुर्नुपर्ने अवस्था छ ।    
        
    यहाँका सरकारी र निजी अस्पतालले कूल ४६ शय्याको मिर्गाैला ‘डायलासिस’ सेवा प्रदान गरिरहेका छन् । सेती प्रादेशिक अस्पतालमा २१ शय्या, महाकाली र टीकापुर अस्पतालमा १०÷१० शय्या र धनगढीस्थित निजी अस्पतालमा १० शय्या सञ्चालित छन् । सङ्घीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा पाँच वटा शय्या छन् ।    
        
    डोटी जिल्ला अस्पतालबाट ‘डायलासिस’ सेवा प्रदानको गृहकार्य भइरहेको भए पनि सेवा सञ्चालनमा आइसकेको छैन् । डोटी जिल्ला अस्पतालका सूचना अधिकारी नारदप्रसाद भट्टले भौतिक संरचना अभावका कारण ‘डायलासिस’ सेवा प्रदान गर्न कठिनाई भइरहेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा विभागबाट तीन थान ‘डायलासिस’ मेसिन अस्पताललाई दिइएको जानकारी दिनुभयो ।    
        
    “अस्पतालको नयाँ भवन निर्माण अन्तिम चरणमा छ”, भट्टले भन्नुभयो–“डायलासिसका लागि एक जनाले तालिमसमेत लिइसक्नुभएको छ । भवन हस्तान्तरण लगत्तै यहाँ उक्त सेवा सञ्चालन गर्छौँ ।”     
        
    सुदूरपश्चिम प्रदेश सरकारले यहाँ ‘डायलासिस’ सेवा सहज रुपमा प्रदान गर्ने गृहकार्य अघि बढाएको भए पनि बिरामीले ‘डायलासिस’ का लागि कुनुपर्ने र भनसुन गराउनुपर्ने परिस्थिति विद्यमान छ । प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण लगत्तै सुदूरपश्चिमका प्रादेशिक अस्पतालमा मृगौलाको ‘डायलासिस’ शय्या थप गर्ने र पहाडी जिल्लामा उक्त सेवा विस्तार गर्ने पहिलो निर्णय गर्नुभएको थियो ।    
        
    गत साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सेती प्रादेशिक अस्पतालमा पाँच शय्या, महाकालीमा चार शय्या, टीकापुर अस्पतालमा तीन शय्या थप गर्ने निर्णय गरेको थियो । भने कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालमा पाँच शय्या, अछामको बयलपाटा प्रादेशिक अस्पताल र जोगबुढा प्रादेशिक अस्पतालमा दुई÷दुई तथा पहाडी जिल्लाका जिल्ला अस्पतालमा दुई शय्या ‘डायलासिस’ सेवा बिस्तार गर्ने निर्णय गरेको थियो ।    
        
    धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले अस्पतालमा २१० मिर्गाैलाका बिरामीले ‘डायलासिस’ सेवा लिइरहेको जानकारी दिनुभयो । “दैनिक १५ बिरामीले सेवा पाउन कुर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “दैनिक १५ देखि २० जनाले सेवा पाइरहेका छन् ।”    
        
    यहाँ निजीतर्फ धनगढीमा रहेको नवजीवन अस्पतालले १० शय्याबाट डायलासिस सेवा प्रदान गरिरहेको छ । त्यसैगरी जिल्ला अस्पताल बझाङका प्रमुख डा सन्दिप ओखेडाले बझाङमा ‘डायलासिस’ सेवा लिुनपर्ने मिर्गाैलाका बिरामी उपचारका लागि धनगढी धाउने गरेका बताउनुभयो ।    
        
    “जिल्लामै सेवा प्रदान गर्न भौतिक पुर्वाधारसँगै तालिम प्राप्त जनशक्ति पनि छ”, उहाँले भन्नुभयो, “मलाई जानकारी भएअनुसार ८÷१० बिरामी धनगढीमा डायलासिस गराइरहनुभएको छ ।” उहाँले जिल्लामै सो सेवा प्रदान गर्न पहल गरिनुपर्नेमा जोड दिनुभयो ।    
        
    त्यसैगरी महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदले अस्पतालमा मिर्गाैलाका बिरामीको चाप रहेको बताउनुभयो । “अब छिट्टै बिहान, साँझ र राति गरी तीन सिफ्टमा सेवा प्रदान गर्ने योजना छ”, उहाँले भन्नुभयो, “बिरामीको चापअनुसार सेवा विस्तार गर्न सकिएको छैन । महाकालीमा दैनिक २० देखि २५ बिरामी ‘डायलासिस’ सेवा लिन आउने गरेका छन् ।”    
        
    सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमले पहाडी जिल्लामा रहेका अस्पतालमा मिर्गाैलाका बिरामीका लागि ‘डायलासिस’ सेवा सञ्चालन गर्न सकिने बताउनुभयो । “दक्ष जनशक्ति र आवश्यक उपकरण भए जिल्ला अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्न समस्या हुँदैन”, उहाँले भन्नुभयो, “सेवा विस्तारका लागि भौतिक संरचना निर्माणदेखि जनशक्तिसम्मका तीनवटै सरकारबीच सहकार्य गर्न आवश्यक छ ।”  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ