पेसावर, २९ असोज पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् । मृतक बालबालिकामध्ये छ जना बालिका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताउनुभयो ।
घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उहाँले जानकारी दिनुभयो । घाइतेको उपचारका लागि अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको थियो । उद्धारकर्मीले भग्नावशेषमुनि फसेका सबैलाई बाहिर निकालेपछि भग्नावशेष हटाउने काम थालेका थिए ।
घाइते शिक्षिका महविश जमानका अनुसार तीनतले विद्यालयमा नर्सरीदेखि पाँच कक्षासम्म करिब एक हजार २०० विद्यार्थी अध्ययनरत थिए । कक्षाकोठामा रहेका बेला छत खसेपछि आफूलाई आकाशै खसेजस्तो लागेको र पछि अस्पतालमा होस खुलेको उहाँले बताउनुभयो ।
दुर्घटनापछि स्थानीय बासिन्दा र उद्धारकर्मी तत्काल घटनास्थल पुगेका थिए । स्थानीय सामिउल्लाह खानले तीन बालिकालाई उद्धार गर्न सहयोग गरेको बताउनुभयो । उहाँका छोरा भने पानी पिउन कक्षाबाट बाहिर निस्किएकाले जोगिएका थिए । घटनास्थल र अस्पतालमा भेला भएका अभिभावकले आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी मागेका थिए ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ । पेसावरका प्रहरी प्रमुख सईद अहमदले विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको र भवन संरचनात्मक रूपमा कमजोर रहेको बताउनुभयो । छत खस्नुको कारण पत्ता लगाउन प्रान्तीय सरकारले समिति गठन गरेको छ ।
राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति जरदारीले घटनाको विस्तृत अनुसन्धान गर्न र विद्यालय भवनमा सुरक्षा मापदण्ड पालना भएको सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।
यसअघि जुलाईमा लाहोरमा निर्माणाधीन शिक्षण केन्द्रको छत खस्दा चार विद्यार्थीको मृत्यु भएको थियो । पाकिस्तानमा निर्माण मापदण्डको कमजोर कार्यान्वयन, गुणस्तरहीन सामग्रीको प्रयोग र सुरक्षा नियमको बेवास्ताका कारण भवन भत्किने घटना बारम्बार हुने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस