१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि प्रहरीले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार महानिर्देशक रजौरियालाई सिरहाबाट र आयोजना निर्देशक रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिइएको हो । दुवै जनालाई नियन्त्रणमा लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरूलाई नियन्त्रणमा लिन निर्देशन आएपछि सम्बन्धित स्थानबाट प्रहरीले टोली परिचालन गरेको थियो । तर, नियन्त्रणमा लिइएका दुवै जनालाई नियमित प्रहरी हिरासतमा भने राखिएको छैन ।
‘नियन्त्रण गरेर ल्याउनु भन्ने आदेश आएपछि सोहीअनुसार भएको हो । उहाँहरू अहिले हाम्रो हिरासतमा हुनुहुन्न । हामीले प्रधानमन्त्री कार्यालयमा बुझाएका हौं,’ प्रहरी स्रोतले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिनुको मुख्य कारणबारे औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन । यद्यपि, सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासँग सम्बन्धित विषयलाई लिएर यस्तो कदम चालिएको हुनसक्ने आकलन गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया लामो समयदेखि विवाद र अनिश्चिततामा पर्दै आएको छ । आयोजनाको ठेक्का पटक–पटक लाग्ने र रद्द हुने क्रमले निर्माण प्रक्रियामा समेत प्रभाव पारेको छ ।
ठेक्का प्रक्रियामा देखिएका समस्या, निर्णय र त्यससँग सम्बन्धित प्रशासनिक जिम्मेवारीबारे अनुसन्धान वा सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान गरिएको छ ।
तर, यस विषयमा प्रधानमन्त्री कार्यालय, सिँचाइ मन्त्रालय वा सम्बन्धित निकायबाट थप आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ । दुवै अधिकारीमाथि के विषयमा सोधपुछ हुने र त्यसपछिको प्रक्रिया के हुने भन्ने पनि स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस