बुधबार, कात्तिक १८ गते २०८३

नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला काठमाडौं आइपुगे

नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला काठमाडौं आइपुगे

अखबार दैनिक
मंगलबार, कात्तिक १७ २०८३
  • नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला काठमाडौं आइपुगे

    १७ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला आफ्नो जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुगेका छन्। मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।

    भारतको विदेश मन्त्रालयले गत असोजको अन्तिम साता दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो। उनी यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए।

    भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउनुअघि नै दलेला काठमाडौं आइपुगेका हुन्। मिश्री भोलिदेखि नेपालको भ्रमणमा रहने कार्यक्रम रहेको छ।

    दलेलाको नियुक्तिलाई भारतको कूटनीतिक वृत्तमा महत्वपूर्ण रूपमा हेरिएको छ। विदेश मन्त्रालयको सचिवस्तरमा काम गरिसकेका करिअर कूटनीतिज्ञलाई नेपालका लागि राजदूत नियुक्त गरिएको यो सम्भवतः पहिलो पटक हो।

    सन् २०२५ देखि भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत दलेलाले यसअघि भुटानका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालिसकेका छन्। उनले भुटानमा करिब तीन वर्ष काम गरेका थिए।

    सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गरेका थिए। त्यसपछि उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगहरूमा विभिन्न जिम्मेवारी सम्हालेका छन्।

    उनले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा समेत काम गरेका थिए। दक्षिण एसियाली छिमेकी राष्ट्र, पूर्वी एसिया, इन्डो–प्यासिफिक क्षेत्र, खाडी मुलुक, मध्यपूर्व र अफ्रिकासँगको भारतको सम्बन्धमा उनको अनुभव रहेको छ।

    rajdut 1.jpg

    नेपाल र भुटानसँगको सम्बन्धमा पनि दलेला जानकार मानिन्छन्। उनले सन् २००६ देखि २००७ सम्म परराष्ट्र मन्त्रालयको नर्थ डिभिजनमा र सन् २०१६ देखि २०१९ सम्म सोही विभागमा सहसचिवका रूपमा काम गरेका थिए।

    व्यापार तथा आर्थिक नीतिमा समेत अनुभव हासिल गरेका दलेलाले भारतको वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका छन्। विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुई पटक सेवा गरेको अनुभव पनि उनीसँग छ।

    त्यस्तै, अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरेका उनले वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री र सन् २०२० देखि २०२२ सम्म उपप्रमुख (डेपुटी चिफ अफ मिसन) को जिम्मेवारी सम्हालेका थिए।

    अनुभवी कूटनीतिज्ञ दलेलाको आगमनसँगै नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, पूर्वाधार विकास र द्विपक्षीय कूटनीतिक संवादलाई थप गति दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार