बुधबार, कात्तिक १८ गते २०८३

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

अखबार दैनिक
बुधबार, कात्तिक १८ २०८३
  • अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत

    वासिङ्टन, १८ कात्तिक  : अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेका छन् । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा उहाँको विधायिकी योजनामा अवरोध पुग्ने र प्रशासनमाथि अनुसन्धान बढ्ने देखिएको छ ।    
        
    जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिबिम्बित भएको छ । ट्रम्पले परिणाम स्वीकार गर्ने बताउँदै डेमोक्रेटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको प्रशंसा गर्नुभएको छ । तर, रिपब्लिकनहरूको हारलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गर्नुभएको छ ।    
        
    डेमोक्रेटहरूले मेन, टेक्सास, कन्सास, आयोवा, दक्षिण क्यारोलिना र उत्तर क्यारोलिनालगायत राज्यमा सफलता हासिल गरेका छन् । मेनमा ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गर्नुभएको छ भने जर्जियामा केइशा लान्स बटम्स अमेरिकी इतिहासकै पहिलो अश्वेत महिला गभर्नर निर्वाचित हुनुभएको छ ।    
        
    दुवै सदनमा बहुमत पाएपछि डेमोक्रेटहरूले इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचारका आरोपमाथि अनुसन्धान गर्न तथा ट्रम्पका विधेयक र सरकारी नियुक्तिमा अवरोध गर्न सक्नेछन् । प्रतिनिधिसभाका नेता हाकिम जेफ्रीज आगामी जनवरीमा पहिलो अश्वेत सभामुख बन्न सक्ने सम्भावना छ ।    
        
    परिणाम स्वीकार गर्ने बताए पनि ट्रम्पले आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले भारी मतान्तरले जित्ने दाबी गर्नुभएको छ । उहाँले डेमोक्रेटहरूले पारित गरेका विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनीसमेत दिनुभएको छ । यसले आगामी दुई वर्ष अमेरिकी राष्ट्रपति र कङ्ग्रेसबीच राजनीतिक टकराव बढ्न सक्ने सङ्केत गरेको छ ।(रासस/एएफपी)    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार