काठमाडौँ, २० कात्तिकः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकलाई सम्बोधन गर्दै उहाँले संस्थाको जिम्मेवारी र कार्यादेशअनुसार परिणाममुखी काम गर्न निर्देशन दिनुभयो ।
मन्त्री तिमिल्सिनाले कार्यालयका नियमित गतिविधि सञ्चालन गर्नुमात्र उपलब्धि नभएको उल्लेख गर्दै नागरिकले प्राप्त गर्ने सेवा र त्यसको प्रभावलाई कार्यसम्पादनको मुख्य आधार बनाउनुपर्ने बताउनुभयो ।
“हामीले के–के गतिविधि गर्यौँ भन्नेभन्दा त्यसको प्रभाव के रह्यो भन्ने कुरा महत्त्वपूर्ण हो”, उहाँले भन्नुभयो, “हरेक दिन मापनयोग्य काम गर्दै अपेक्षित परिणाम हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।”
मन्त्रालय र मातहतका निकायका प्रमुख तथा कर्मचारीले आफ्नो संस्थाको जिम्मेवारी स्वामित्व लिनुपर्नेमा जोड दिँदै उहाँले संस्थाको उद्देश्य पूरा गर्न नेतृत्व तहबाटै सक्रियता र जवाफदेहिता आवश्यक रहेको बताउनुभयो । प्रत्येक निकायले आफ्नो जिम्मेवारी पूरा गरेमा मन्त्रीस्तरबाट दैनिक निर्देशन दिनुपर्ने अवस्था नआउने उहाँको भनाइ थियो ।
कार्यसम्पादनमा देखिएका समस्या समाधानका लागि त्रैमासिक समीक्षासम्म कुर्न नहुने उल्लेख गर्दै उहाँले समस्या देखिनासाथ सम्बन्धित महाशाखा, सचिव वा मन्त्रीसमक्ष जानकारी गराएर तत्काल समाधान खोज्न आग्रह गर्नुभयो । समस्यामात्र प्रस्तुत नगरी समाधानका उपायसमेत लिएर आउन उहाँले निर्देशन दिनुभयो ।
“समस्या लिएर तीन महिना कुरेर नबस्नुस्, समस्या भोलि नै आउनुस्”, उहाँले भन्नुभयो, “समस्या के हो भन्नेमात्र होइन, यसको समाधान कसरी गर्न सकिन्छ भन्ने प्रस्ताव पनि लिएर आउनुहोला ।”
सरकारले निर्धारण गरेको लक्ष्य र जिम्मेवारी पूरा गर्न मन्त्रालयका सचिव तथा मातहतका निकायका प्रमुखबीच भएका कार्यसम्पादन सम्झौता गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो । आफूले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौता पनि मातहतका निकायको प्रभावकारी कार्यसम्पादनसँग जोडिएको उल्लेख गर्दै उहाँले सबै तहमा जवाफदेहिताको संयन्त्र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
बजेट खर्च गर्नुमात्र प्रगति नभएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विनियोजित बजेट उद्देश्यअनुसार उपयोग भए नभएको समीक्षा गर्नुपर्ने बताउनुभयो । खरिद प्रक्रिया, बजेट उपयोग र वित्तीय कार्यसम्पादन प्रभावकारी बनाउन सम्बन्धित निकायले समयमै आवश्यक निर्णय लिनुपर्ने उहाँको भनाइ थियो ।
अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले सबै निकाय नेपाल सरकारकै संरचनाभित्र रहेकाले छुट्टाछुट्टै रूपमा नभई साझा उद्देश्यका साथ काम गर्नुपर्ने बताउनुभयो । कानुनले अनिवार्य नगरेका तर कार्यसम्पादनमा अवरोध सिर्जना गर्ने पुराना प्रक्रियामा सुधार गरी सेवा प्रवाह सहज बनाउनसमेत उहाँले निर्देशन दिनुभयो ।
मन्त्रालयअन्तर्गतका निकायमा संस्थागत सुधार, जनशक्ति व्यवस्थापन र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मार्फत चुस्त संरचना निर्माणको काम अघि बढाइएको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले संस्थाको आवश्यकता र कार्यादेशअनुसार जनशक्ति व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित निकायका नेतृत्वको भएको बताउनुभयो ।
बैठकमा संस्थागत गोपनीयता र पेसागत इमानदारी कायम राख्न पनि उहाँले निर्देशन दिनुभयो । संस्थाको हितविपरीत सूचना चुहावट गर्ने तथा संस्थागत मर्यादामा आँच पुर्याउने गतिविधिलाई सरकारले गम्भीरतापूर्वक लिने उल्लेख गर्दै उहाँले यस्ता विषयमा सम्बन्धित निकायका प्रमुखले निगरानी गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले मन्त्रालयले नीतिगत, कार्यगत तथा बजेटगत क्रियाकलापलाई तीव्रताका साथ अघि बढाइरहेको बताउनुभयो । प्रथम त्रैमासिकको समीक्षा गर्दा समग्र अवस्था सन्तोषजनक देखिए पनि केही ठूला खरिद प्रक्रिया र कार्यक्रम कार्यान्वयनका काम अझै प्रक्रियामै रहेको उहाँले जानकारी दिनुभयो ।
दोस्रो चौमासिकदेखि कामकाज थप सहज हुने अपेक्षा व्यक्त गर्दै उहाँले मन्त्रालय तथा मातहतका निकायले सेवा प्रवाह छिटोछरितो, प्रभावकारी र गुनासोरहित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । अनलाइन प्रणालीको कार्यान्वयन, कर्मचारी व्यवस्थापन र आन्तरिक प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
बैठकमा मन्त्रालय तथा मातहतका निकायको प्रथम त्रैमासिक अवधिको कार्यप्रगति, बजेट खर्च, कार्यक्रम कार्यान्वयनको अवस्था र देखिएका समस्याबारे समीक्षा गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस