बिहीबार , मंसिर ३ गते २०८३

मधेसलाई सरकारले विशेष प्राथमिकतामा राखेको छः मन्त्री लम्साल

मधेसलाई सरकारले विशेष प्राथमिकतामा राखेको छः मन्त्री लम्साल

अखबार दैनिक
बिहीबार , मंसिर ३ २०८३
  • मधेसलाई सरकारले विशेष प्राथमिकतामा राखेको छः मन्त्री लम्साल

    जनकपुरधाम, ३ मङ्सिरः भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताउनुभएको छ ।    
        
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा जनकपुरधाममा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अन्य प्रदेशको तुलनामा मधेसमा बढी बजेट विनियोजन गरिएको बताउनुभयो ।    
        
    “देश मधेसले बनाउँछ, किनकि सबैभन्दा बढी बेल्चा चलाउने श्रमिक मधेसमै छन्,” उहाँले भन्नुभयो, “यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ । अब उप्रान्त मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक रु एक हजार ७०० कमाउने छन् ।” हाल बेल्चा चलाउने श्रमिकले दैनिक रु ५०० मात्रै आम्दानी गरिरहेको उल्लेख गर्दै उहाँले सरकारले श्रमिकको पारिश्रमिक वृद्धि गरेकाले त्यसबाट मधेसका श्रमिक बढी लाभान्वित हुने बताउनुभयो ।    
        
    मन्त्री लम्सालले मधेसको विकास र यहाँका नागरिकको जीवनस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेको  उल्लेख गर्दै पूर्वाधार विकासका कामलाई तीव्रता दिइने बताउनुभयो ।    
        
    यसैबीच, मन्त्री लम्सालले आजै ढल्केबर–जनकपुरधाम सडक खण्डअन्तर्गत निर्माणाधीन बससी पुल, धनुषाको मिथिला बिहारी नगरपालिकास्थित निर्माणाधीन कटरेत पुल, जालाद पुल सिर्सिया, इच्छापुरस्थित जालाद पुल तथा मिथिला सागर पुलको स्थलगत निरीक्षण गर्नुभयो ।    
        
    निरीक्षणका क्रममा उहाँले निर्माणाधीन आयोजनाको प्रगति, निर्माणको अवस्था तथा देखिएका समस्याबारे जानकारी लिनुका साथै स्थानीयवासी र निर्माण कम्पनीका प्रतिनिधिसँग छलफलसमेत गर्नुभएको थियो ।    
        
    मन्त्री लम्सालले विकास निर्माणका आयोजनाको प्रभावकारी कार्यान्वयन र समयमै सम्पन्न गर्ने विषयमा सम्बन्धित पक्षसँग चासो राख्नुभएको थियो ।(रासस)    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ