काठमाडौं । पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा ८ विकेटको शानदार जित निकाल्दै दुई खेलको सिरिज १–० ले आफ्नो पक्षमा पारेको छ ।
रावलपिण्डी क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकाले दिएको ९० रनको सामान्य लक्ष्य १३ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानको जितमा अलराउन्डर आमेर जमालले आक्रामक ब्याटिङ गरे । उनले २२ बलमा अविजित ३४ रन बनाए । उनको इनिङ्समा ५ चौका र एक छक्का समावेश थियो ।
त्यस्तै ओपनर अजम आविसले ३६ बलमा अविजित ३२ रनको योगदान दिए । उनले ५ चौका प्रहार गरे ।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले तय्यब आरिफलाई १३ र मोहम्मद तहालाई ४ रनमा गुमाएको थियो । तर जमाल र आविसले थप विकेट नगुमाई टोलीलाई जित दिलाए ।
यसअघि दोस्रो इनिङ्समा श्रीलंका ३१६ रनमा अलआउट भएको थियो । श्रीलंकाका लागि मिलन रत्नायकेले अविजित ६६ रन बनाए । सोनल दिनुषाले ५४ तथा कप्तान कुशल मेन्डिसले ५३ रन जोडे ।
पाकिस्तानका लागि मोहम्मद अब्बास र आमेर जमालले समान ३–३ विकेट लिए । रजाउल्लाहले २ तथा साकिब खान र सलमान अली आघाले एक–एक विकेट हात पारे ।
यसअघि पहिलो इनिङ्समा श्रीलंका मात्र ९८ रनमा समेटिएको थियो । जवाफमा पाकिस्तानले ३२५ रन बनाउँदै २२७ रनको विशाल अग्रता लिएको थियो ।
पाकिस्तानका गाजी घोरीले ५४ रन बनाउँदै आफ्नो टेस्ट करियरको पहिलो अर्धशतक पूरा गरेका थिए । रजाउल्लाहले पनि आक्रामक ब्याटिङ गर्दै ४२ रन जोडेका थिए ।
दुई खेलको सिरिजको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो टेस्टमा जित निकालेसँगै पाकिस्तानले सिरिज १–० ले जितेको हो ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस