शुक्रबार, मंसिर ११ गते २०८३

नारच्याङमा हावाहुरीको वितण्डा

नारच्याङमा हावाहुरीको वितण्डा

अखबार दैनिक
बिहीबार , मंसिर १० २०८३
  • नारच्याङमा हावाहुरीको वितण्डा

    म्याग्दी, १० मङ्सिरः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्याएको छ ।   

    हावाहुरीले नारच्याङस्थित १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनाका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकको बसोबासका लागि राखिएका टेन्ट उडाएको छ ।    
        
    यही मङ्सिर ८ गते बिहान करिब १२ः१५ बजेदेखि सुरु भएको हावाहुरीले आयोजनाको विस्फोटक पदार्थ भण्डारणस्थल भालेबासमा रहेको नेपाली सेनाको सुरक्षा बेसक्याम्पमा करोडौँको क्षति पुर्याएको आयोजनाका सामाजिक विकास, प्रशासन तथा जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिनुभयो ।    
        
    नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमबाट खटिएको टोलीका लागि निर्माण गरिएको अधिकृत आवास, जवान आवास, भान्सा, मेस, मनोरञ्जन हल, बाथरुम, शौचालय र सेन्ट्री पोस्टमा क्षति पुगेको छ । हावाहुरीले भवनमा जडान गरिएका यन्त्र उपकरण, भुइँमा बिछ्याइएको सामग्री, फर्निचर र अन्य सामान क्षति हुनाका साथै उडाएर अन्यत्र पुर्याएको छ ।    
        
    त्यस्तै, आयोजनामा आबद्ध निर्माण कम्पनी एन्जेलिक इन्टरनेसनल लिमिटेडको गोदाम र कर्मचारी आवास भवनका भित्ता र छाना उडाएको छ । यसबाट आयोजनाको निर्माण कार्य प्रभावित हुने देखिएको वरिष्ठ प्रबन्धक श्रेष्ठले बताउनुभयो ।    
        
    विस्फोटक पदार्थ प्रयोग गरेर गरिने सुरुङ उत्खननलगायतका काममा असर पर्ने उहाँले बताउनुभयो । सुरक्षा बेसक्याम्पलाई पुरानै अवस्थामा फर्काउन समय लाग्ने भएकाले आयोजनाको दैनिक निर्माण कार्य प्रभावित हुने उहाँको भनाइ छ ।    
        
    हावाहुरीले भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयको कक्षाकोठा भवनको छाना उडाएको छ । नारच्याङका स्थानीय महलबहादुर गर्बुजाको दुईतले ढुङ्गामाटोले बनेको घरको छाना उडाएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिनुभयो ।    
        
    नारच्याङ र आसपासका बस्तीमा रहेका अन्य घरगोठमा पनि क्षति पुगेको छ । हावाहुरीले सुन्तलाका दाना झारेर क्षति पु¥याएपछि किसान चिन्तित भएका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष फगामीले बताउनुभयो ।    
        
    अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसर र भुसकेटमा पर्यटकको बसोबास व्यवस्थापनका लागि राखिएका १२ वटा टेन्ट हावाहुरीले उडाएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । टेन्ट उडाएपछि पदयात्रामा रहेका पर्यटकलाई रात बिताउन समस्या भएको उहाँले जानकारी दिनुभयो ।    
        
    हावाहुरीपछि नेपाली सेनाको इन्द्रबक्स गण, जोमसोमका सेनानी मनिष गुरुङ, उपसेनानी नारायण पण्डित, आयोजनाका निर्देशक रमण सिंह, कर्मचारी, इलाका प्रहरी कार्यालय दानाका प्रहरी, स्थानीयवासी र सञ्चारकर्मीसहितको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो । वडाध्यक्ष फगामीको रोहवरमा इलाका प्रहरी कार्यालय दानाले क्षतिको विवरणसहित प्रहरी मुचुल्का तयार गरेको छ ।    
        
    जल तथा मौसम विज्ञान विभागको पोखरास्थित स्वचालित मौसम मापन केन्द्रका मौसमविद् सुमना रेग्मीका अनुसार उत्तरी म्याग्दी र मुस्ताङ क्षेत्रमा सोमबार रातिदेखि मङ्गलबार दिउँसोसम्म प्रतिसेकेन्ड अधिकतम चार दशमलव एक मिटरको गतिमा हावा मापन गरिएको थियो ।    
        
    यसैबीच, ‘रन अफ द रिभर’ प्रकृतिको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको मुस्ताङसँगको सिमानामा निर्माणाधीन बाँधमा गत असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोले क्षति पु¥याएको थियो । गत जेठमा भालेबासको अडिट नं १ र असोज पहिलो साता घरापको अडिट नं ४ बाट सुरुङ खन्न सुरु गरिएको आयोजनाको निर्माण कार्य प्राकृतिक विपद्का कारण प्रभावित हुँदै आएको छ ।    
        
     रु ४० अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैङ्कको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहनेछ् । रासस   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार