बिहीबार , जेठ ३ गते २०८२

नयाँ कार्यकक्षमा प्रधानमन्त्री, खुल्दै स्टेट हल र बेलायती कक्ष

नयाँ कार्यकक्षमा प्रधानमन्त्री, खुल्दै स्टेट हल र बेलायती कक्ष

अखबार दैनिक
बुधबार, मंसिर ६ २०८०
  • नयाँ कार्यकक्षमा प्रधानमन्त्री, खुल्दै स्टेट हल र बेलायती कक्ष

    ६ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्षसहित बिलासी हलहरुको समेत प्रयोग सुरु भएको हो ।

    images

    बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले कार्यालयको स्थानान्तरणले नयाँ गति पक्रिने र सबैको एकता अझै बलियो हुने विश्वास व्यक्त गरे ।

    ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सारिएकोका छौं । यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि गरेको छु,’ उनले भने,‘ १२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको त्यस्तै राखेर भूकम्पबाट जुन क्षति भएको थियो, त्यसको प्रवलीकरण भएको छ ।

    state-hall-pm-office.jpg

    प्रचण्डले अघि भने,‘ अहिले बसिरहेको ठाउँमा अलि गुम्म परेको, फ्रेस नभएको जस्तो लाग्थ्यो, यो ठाउँमा चाहि सबैतिर देखिने, बरन्डातिर पनि हेर्न पाइने, स्पेस पनि अली ठूलो भएकाले बढी दिमाग फुर्छ होला भन्ने अपेक्षा गरेको छु ।’२ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् । अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरनै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा आउने अधिकारीहरु बताउँछन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्षसहित तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए ।

    पश्चिम मोहोडाका यि विशिष्ट पाहुनाहरुसँगको बैठक गर्ने विशिष्ट र ऐतिहासिक कक्षहरुको तयार भएसँगै सिंहदरबारको मूल भवनको पुनर्निर्माणको काम लगभग सकिएको छ ।

    माघ २०७७ मा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए । ती कक्ष तयार भएपछि गृह मन्त्रालयको भवनमा सरेर बसेको प्रधानमन्त्री कार्यालय सिंहदरबारकै मूल भवनमा फर्किएको थियो । 

    state-hall-pm-office-555.jpg

    शहरी विकास तथा भवन निर्माण विभागका अनुसार २०७६ सालदेखि गौरी/शर्मा एण्ड न्यु टेक्निकल जेभीमार्फत पश्चिम मोहोडाका कक्षहरुको पुनर्निर्माण सुरु भएको थियो । पुनर्निर्माण प्राधिकरण विघटन भएसँगै शहरी विकास विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले यो आयोजना हेरिरहेको थियो ।

    पुनर्निर्माण सकिएको सिंहदरबारको पश्चिम मोहोडा विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । सो आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । ती भागहरुको पुनर्निर्माण गरिएको थियो ।

    तर, आगलागीबाट जोगाइएका बेलायती कक्ष स्टेट हलदेखि चन्द्रशमशेरका शयन कक्षसम्म कक्षहरु सिंहदरबारको पश्चिमी मोहोडामा पर्छन् । सो मोहोडाका कक्षमा रहेको राणाकालीन विभिन्न सम्पदाहरुलाई त्यसतर्फ नै संग्रहालय बनाएर राख्ने तयारी छ ।

    अधिकारीहरुका अनुसार पुराना विलासी र बहुमूल्य पेन्टिङ, घडी, झुमर र कलाकृतिहरुलाई दुरुस्तै राखेर कक्षहरुको पुनर्निर्माण गरिएको छ ।

    चन्द्रशमशेरले आफ्नै प्रयोजनका लागि सिंहदरबार निर्माण गराउँदा नै स्टेट हल र बेलायती कक्षहरु बेलायको दरबारका कार्यकक्ष स्तरमै बनाएका थिए । इतिहासका जानकारहरुका अनुसार सुनौलो रंगको ‘स्टेट हल’ उनको सबैभन्दा प्रिय कक्ष थियो । आफ्ना विशिष्ट भेटवार्ता उनी त्यही कक्षमा गर्थे । कक्षमा हुने अन्य गतिविधिहरु पनि यही हलको माथितर्फ रहेका शयन कक्षमा खुल्ने झ्यालबाट नियाल्थे ।

    prachanda-pm-office-222.jpg

    कक्षका ढोकादेखि झ्यालसम्ममा बहुमूल्य बुट्टेदार सिसाहरु प्रयोग गरिएका छन् । यो कक्ष कलात्मक ऐनादेखि बुट्टेदार भित्ताहरुले सजिएको छ । राणाकालीन पियानोसम्म राखेर सजावट गरिएको छ । यहाँ राखिएका महँगा झुमर र पेन्टिङदेखि घडीहरुसम्मले राणा प्रधानमन्त्रीहरुको विलासी शोखलाई प्रतिबिम्बित गर्छन् ।

    ऐतिहासिक महत्वको बेलायती कक्ष पनि ‘नियोक्लासिक’ डिजाइनमा बनेको शानदार कक्ष हो । बेलायतकै दरबारको अतिविशिष्ट कक्षको नक्कल गरेर बनाइएको सो कक्षमा पनि महँगा पेन्टिङदेखि झुमरहरुसम्म सजाइएका छन् । कक्षमा कुँदिएका कलात्मक बुट्टाहरुले यो कक्षलाई भव्य देखाएको छ ।

    राणा प्रधानमन्त्रीहरुले ऐस आरामका लागि प्रयोग गरेका यस्ता कक्षहरु अहिले सिंहदरबारको इतिहाससँग जोडिएको गर्वको सम्पदा बनेका छन् ।  यी कक्षहरु बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणमा आउँदा समेत राजकीय भेटवार्ता तथा भोजका लागि प्रयोग भएका थिए ।

    हालै पुनर्निर्माण सकिएका सिंहदरबारभित्रको स्टेट हल २० वर्षदेखि भने प्रयोगविहीन छ । २ जेठ २०५८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चिनियाँ प्रधानमन्त्री झु रोङ्जीसँग भेटेपछि स्टेट हलको प्रयोग भएको छैन ।

    बेलायती बैठक कक्षमा भने १ माघ २०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ समकक्षी वेन जिआबाओसँग भेट गरेका थिए । त्यसपछि यो कक्ष प्रयोग भएको रेकर्ड छैन ।

    २०७२ को भूकम्पअघि नै भित्ता चर्किने र भुईं थर्किने लगायत समस्या देखिएपछि यी कक्षहरु प्रयोगमा थिएनन् । झन् २०७२ सालमा यी कक्षका भित्ताहरु चर्किएपछि ताल्चा ठोकिएको थियो । सरकारले बेवास्ता गर्दा भूकम्प गएको ८ वर्षसम्म यी कक्षहरुको पुनर्निर्माण सकिएको थिएन ।

    सरकारले चासो नदिंदा भएका कक्षहरु प्रयोग नहुने तर अति विशिष्ट विदेशी पाहुनासँगको भेटघाट पाँचतारे होटलहरुमा गर्नुपर्ने बाध्यता थियो । त्यसले सरकारको खर्च बढाएको तियो भने सुरक्षा व्यवस्थापन पनि जटिल हुने गरेको छ । अब भने प्रधानमन्त्रीले विशिष्ट भेटघाटमा यी कक्षहरु नै प्रयोग गर्नसक्ने अवस्था बनेको छ ।

    गौरी/शर्मा एण्ड न्यु टेक्निकल जेभीका टिम लिडर लक्ष्मीप्रसाद सुवेदी ठेक्का अन्तरगतको सबै काम सकिएको र दरबारलाई प्रवलीकरण गरेर जोगाइएको बताउँछन् । ‘ कक्षहरुमा केही राख्नुपर्ने वा सजाउनुपर्ने भए सरकारले थप काम गर्छ,’ उनले भने,’हामीले पाएको जिम्माअनुसार काम सकेका छौं ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ