काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति नेपाली जनताको मोहभंग भएको भन्ने दावीलाई खारेज गरेका छन्। प्राइम टाइम्स टेलिभिजनको 'जनता जान्न चाहन्छन्' कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गणतन्त्रप्रति होइन, वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा निराशा बढेको स्पष्ट पारे।
प्रचण्डले आफूले तराई र मध्यपहाडी भेगमा लाखौं जनतासँग प्रत्यक्ष संवाद गरेको अनुभव सुनाउँदै गणतन्त्रलाई नागरिकहरूले अझै पनि परिवर्तनको आशाका रूपमा हेर्ने बताएका छन्। “गणतन्त्र कमजोर भयो भन्ने भ्रम फैलाउनेहरू गलत छन्,” उनले भने, “जनता त गणतन्त्रबाट जीवनमा परिवर्तन होस् भन्ने चाहन्छन्।”
तर उनले वर्तमान सरकारको कामकारबाहीप्रति भने गम्भीर असन्तुष्टि रहेको स्वीकार गरे। प्रचण्डका अनुसार भ्रष्टाचार, सुशासनको अभाव, सामाजिक विभेदजस्ता मुद्दामा सरकार असफल हुँदा आम जनतामा आक्रोश बढेको छ, र त्यही असन्तुष्टिलाई राजावादीहरूले आफ्नो फाइदाको लागि प्रयोग गर्न खोजिरहेका छन्।
“सरकारको नेतृत्व गरिरहेका पार्टीका कतिपय गलत कामप्रति जनतामा वितृष्णा हुनु स्वाभाविक हो,” प्रचण्डले भने, “तर त्यो असन्तुष्टिलाई राजतन्त्रको विकल्प भनेर बुझ्नु मूर्खता हो।”