काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टा-छुट्टै छलफल गरेका छन् । रास्वपा कार्यवाहक सभापति अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको, अवरोधको स्वरुप बदल्न आग्रह गरे ।सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराए ।
रास्वपा कार्यवाहक सभापति अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए ।गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गरे ।अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुरू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरे ।