सोमबार, असार ३ गते २०८२

गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार

गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार

अखबार दैनिक
सोमबार, असार ३ २०८२
  • गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने कुरा दोहोर्‍याएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    images

    उनले जनतालाई शिकार गरेर राज्यका संरचना बनाइरहेको भन्दै आपत्ति जनाउँदै रास्वपा विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा रहेको बताए।  उनले राज्य कसको लागि र जनतालाई दुःख दिन बनाएका हौं? भन्दै प्रश्न गरे।   नेपालीलाई स्वदेशमा बस्न, खान र लगाउने व्यवस्था नगर्ने र जीविकोपार्जन गर्न विदेश जानेमाथि ठग्ने राज्यको संरचना जवाफदेही हुनुपर्ने बताए।

    उनले गृह मन्त्रालयअन्तर्गत अध्यागमन कार्यालयको विषयमा उठेको कुराको जबाफ माग्दा सदनमा आफूहरूमाथि बल प्रयोग गरेर सदन चलाइएको भन्दै आपत्ति व्यक्त गरे। उनले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बन्नैपर्ने कुरा दोहोर्‍याए।  

    उनले भने, ‘जनतालाई शिकार गरेर राज्यका संरचना बनाइरहनुभएको छ। रास्वपा विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा बसेको छ। सम्मानित सदनबाट, भन्न चाहन्छु, यो राज्य कसको लागि बनाएका छौँ? जनतालाई दुःख दिन बनाएका हौँ? या जनताका लागि यो राज्य बनाएका हौँ? तमाम नेपाली जनतालाई रोजगार दिन नसक्ने, खान लाउन र बासको व्यवस्था गर्न नसक्ने अनि जीविकोपार्जन गर्न विदेश जानी महिला दिदीबहिनी र दाजुभाइहरूलाई ठग्ने यो राज्यको संरचना जबाफदेही हुनुपर्छ कि पर्दैन? गृह मन्त्रालय अन्तर्गत अध्यागमन कार्यालयको कुरा आएको छ, हामीले त्यसको जबाफ माग्दा आज हामीलाई यो सदनमा बल प्रयोग गरेर हामी कराइरहँदा पनि यो सदन चलाउने? यो हुन सक्दैन। छानबिन समिति चाहिन्छ।’

    भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन्।

    सोमबारको प्रतिनिधि सभामा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन्। यद्यपि, रास्वपाका विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद अगाडि बढाएका छन्। – न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ