संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कैलालीस्थित ऐतिहासिक गर्भा दरबारको संरक्षणमा सरकार गम्भीर रहेको र देशको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान प्रवद्र्धनप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिँदै उहाँले कैलालीको चुरे गाउँपालिका–४ मा अवस्थित गर्भा दरबारलाई पुरातात्त्विक सम्पदाको सूचीमा सूचीकृत गरिसकिएको जानकारी दिनुभयो ।
मन्त्री पाण्डेले दरबारको संरक्षणप्रति स्थानीय चासो पनि बढिरहेको उल्लेख गर्दै २०७८ साल असोज ७ गते चुरे गाउँपालिकाले पुरातत्व विभागमा संरक्षणका लागि औपचारिक निवेदन पेस गरेको बताउनुभयो ।
विभागले स्थलगत निरीक्षण गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य अघि बढाएको र आगामी आर्थिक वर्ष २०८२/८३ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीका लागि रु चार लाख रकम प्रस्ताव गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार अब संरचना संरक्षणको कार्य संस्थागत रूपमा अगाडि बढाइनेछ ।
राष्ट्रियसभा सदस्य मदनकुमारी शाह गरिमाले कैलालीको गर्भा दरबारको संरक्षण र पर्यटन प्रवद्र्धनबारे सरकारको नीति तथा कार्यक्रमबारे प्रश्न गर्नुभएको थियो ।
यसैबीच, राष्ट्रियसभा सदस्य मोहम्मद खालिदले उठाउनुभएको प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले सरकार बहुभाषिक पहिचान प्रवर्द्धनमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानको धारा ६ अनुसार नेपालमा बोलिने सम्पूर्ण मातृभाषा राष्ट्रभाषा हुन् र धारा २८७ अनुसार गठन भएको भाषा आयोगले ती भाषाको संरक्षण, अध्ययन, अनुसन्धान तथा विकास कार्य गर्दै आएको छ ।”
जनगणना, २०७८ का आधारमा हालसम्म १२४ भाषा पहिचान भइसकेका छन् । त्यसमा ९३ वटा अर्थात् करिब ७५ प्रतिशत भाषा आदिवासी समुदायसँग सम्बन्धित छन् । ती भाषाको संरक्षण, अभिलेखीकरण र प्रयोग प्रवद्र्धनमा सरकार निरन्तर लागिपरेको पनि मन्त्री पाण्डेले उल्लेख गर्नुभयो ।
मन्त्री पाण्डेले विविध भाषाभाषी समुदायको मौलिक अधिकार संरक्षण गर्नु नै सशक्त सामाजिक समावेशिता र पहिचानको आधार भएको स्पष्ट पार्दै सरकारको नीति तथा कार्यक्रम भाषा र संस्कृति संरक्षणमै केन्द्रित रहेको बताउनुभयो । रासस