सोमबार, असार ३१ गते २०८२

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

अखबार दैनिक
सोमबार, असार ३१ २०८२
  • श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशाम्सीबीच भेटवार्ता भएको छ ।

    images

    आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच युएईमा कार्यरत नेपाली कामदारका लागि न्यूनतम एक हजार दिराम तलब अनिवार्य रूपमा लागू गर्ने विषयमा छलफल भएको मन्त्री भण्डारीको निजी सचिवालयले जानकारी दिएको हो । मन्त्री भण्डारीले विगत लामो समयदेखि नेपाली श्रमिकहरू अत्यन्तै न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको स्मरण गराउँदै अब न्यूनतम एक हजार दिराम नगद तलब र थप ४०० दिराम बराबरको आवास तथा खानाको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

    नेपाली श्रमिकका लागि जम्मा एक हजार ४०० दिराम बराबरको सेवासुविधा सुनिश्चित गर्न युएई सरकारलाई मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।

    सो अवसरमा राजदूत अलशाम्सीले नेपाल सरकारद्वारा तय गरिएको न्यूनतम तलबको व्यवस्थालाई युएई सरकारले सकारात्मक रूपमा लिएको बताउनुभयो । यसको कार्यान्वयनमा आफूहरुको पूर्ण समर्थन रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “नेपाल सरकारद्वारा तय गरिएको नीति युएईले पूर्ण रूपमा कार्यान्वयन गर्न तयार छ”, उहाँले भन्नुभयो ।

    भेटका क्रममा राजदूत अलशाम्सीले महिला घरेलु कामदारका लागि नेपाल सरकारले अघि सारेको पाइलट परियोजनाबारे समेत चासो व्यक्त गर्नुभएको थियो ।

    मन्त्री भण्डारीले पाइलट परियोजनाका लागि सबै आन्तरिक तयारी सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्णय आएलगत्तै घरेलु कामदार पठाउने प्रक्रिया सुरु हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारले श्रमसम्बन्धी सम्पूर्ण सेवा–सुविधालाई ‘डिजिटलाइजेसन’तर्फ अगाडि बढाइरहेको जानकारी गराउँदै उहाँले त्यसमा युएई सरकारसँग सहकार्यको अपेक्षा गरिएको बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार