एजेन्सी। मान्छेको शरीरभित्र मासु खाने किरा (न्यू वर्ल्ड स्क्रूवर्म) भेटिएको अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले बताएकाे छ । यो मासु खाने परजीवी एल साल्भाडोरबाट फर्केका एक बिरामीमा फेला परेको बताइएको छ ।
यो किराबाट प्रभावित देशहरू मध्ये एल साल्भाडोर पनि एक हो । अमेरिकाको जनस्वास्थ्य एजेन्सी ‘रोग नियन्त्रण तथा रोकथाम केन्द्र’ (सीडीसी)ले अगस्ट ४ मा यो सङ्क्रमण पूष्टि गरेको थियो । बिरामी पूर्ण रूपमा निको भइसकेको र अर्काे मानिस वा जनावरमा स्क्रूवार्म फैलिएको कुनै प्रमाण नभेटिएको बताइएको छ ।
के हो न्यू वर्ल्ड स्क्रूवर्म ?
अमेरिकी कृषि मन्त्रालयको पशु तथा वनस्पति स्वास्थ्य निरीक्षण सेवाका अनुसार यो एउटा खतरनाक किरा हो । स्क्रूवर्म हेर्दा झिँगा जस्तै हुन्छ । यसको आकार पनि घरमा भेटिने झिँगा जत्तिकै वा अलि ठुलो हुन्छ । यिनीहरू नीलो वा हरियो रंगका हुन्छन् र तिनीहरूको पछाडि तीनवटा कालो धारहरू हुन्छन् । तिनीहरूको आँखा सुन्तला रङ्गको हुन्छ । स्क्रूवर्महरू वस्तुभाउ, घरपालुवा जनावर, जङ्गली जनावर, कहिलेकाहीँ चरामा पाइन्छ । धेरै दुर्लभ अवस्थामा मात्रै यो मानिसहरूमा पाइन्छ ।
स्क्रूवर्मको लार्भा जीवित प्राणीको मासुमा प्रवेश गर्यो भने तिनीहरूले गम्भीर र कहिलेकाहीँ जीवनलाई खतरामा पार्ने क्षति पुराउँछन् । न्यू वर्ल्ड स्क्रूवर्मको सङ्क्रमणका मामिला क्युबा, हैटी, डोमिनिकन गणराज्य र अन्य दक्षिण अमेरिकी देशहरूमा देखिएको छ ।
कसरी फैलिन्छ स्क्रूवर्म ?
पोथी स्क्रूवर्मले जनावरको घाउमा अण्डा पार्छन् । अण्डा निस्केपछि, सयौँ लार्भाहरू मासुमा छिर्छन् । समयमै यसको उपचार गरिएन भने तिनीहरूले मृत्यु पनि निम्त्याउन सक्छन् । यी कीराहरू काठमा स्क्रू छिरेजस्तै घाउमा छिर्ने भएकोले यसको नाम स्क्रूवर्म राखिएको हो ।
यो पशुधन र वन्यजन्तुहरूको लागि खतरनाक हुन सक्छ । दुर्लभ अवस्थामा यसले मानिसहरूलाई असर गर्न सक्छ । खुला घाउ भएका मानिसहरू यो किरा फैलिने उच्च जोखिममा हुन्छन् । विशेष गरी तिनीहरूले प्रभावित देशहरूमा यात्रा गर्छन् वा स्क्रूवर्म बोक्ने वस्तुभाउको सम्पर्कमा आउँछन् भने यस्तो हुन्छ ।
यसको एक मात्र उपचार भनेको सबै लार्भा हटाउन घाउलाई राम्ररी सफा गर्नु हो । शुरुमै उपचार गर्न सकियो भने सङ्क्रमण फैलिनबाट रोक्न सकिन्छ ।
यस्तो छ अमेरिकामा स्क्रूवर्मको इतिहास
अमेरिकी कृषि मन्त्रालयका अनुसार, १९३३ मा सङ्क्रमित वस्तुभाउमार्फत देशको दक्षिणपश्चिमबाट दक्षिणपूर्वमा स्क्रूवर्म फैलिएको थियो । १९३४ सम्ममा मिसिसिपी, अलाबामा, उत्तरी क्यारोलिना, दक्षिण क्यारोलिना, जर्जिया र फ्लोरिडामा यसको सङ्क्रमण भेटियो ।
१९६० को दशकमा अनुसन्धानकर्ताहरूले ठुलो सङ्ख्यामा भाले स्क्रूवर्महरूको नसबन्धी गरेर अमेरिकाबाट स्क्रूवर्म उन्मूलन गरेका थिए । नसबन्धीका कारण भाले झिँगा र जङ्गली पोथी झिंगाहरूले बाँझो अण्डा मात्र उत्पादन गर्थे, अर्थात् यस्ता अन्डा लार्भामा विकास हुन सक्दैनथे । यसरी स्क्रूवार्म उन्मूलन गरिएको थियो ।
यसको पछिल्लो प्रकोप २०२३ मा पनामामा सुरु भएको हो । यस वर्ष जुलाईमा, मेक्सिकोले अमेरिकी सीमाबाट लगभग ५९५ किलोमिटर दक्षिणमा नयाँ बिरामी भेटिए । यसपछि, अमेरिकी कृषि विभागले दक्षिणी बन्दरगाहबाट गाईवस्तुको आयातमा प्रतिबन्ध लगायो ।
कृषि मन्त्रालयको अनुमान अनुसार, अमेरिकाले हरेक वर्ष मेक्सिकोबाट १० लाखभन्दा बढी गाईबस्तु आयात गर्छ । यस्तो अवस्थामा, स्क्रूवर्मको प्रकोपले गम्भीर आर्थिक क्षति पुर्याउन सक्छ ।
यसले गाईबस्तु उद्योगसँग सम्बन्धित १०० अर्ब डलरभन्दा बढीको आर्थिक गतिविधिलाई खतरामा पार्न सक्छ । यद्यपि, हाल जनस्वास्थ्यमा जोखिम धेरै कम भएको अधिकारीहरू भन्छन् ।