शनिबार, भदौ २९ गते २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८२
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । बुधबार (भदौ २५) साँझदेखि नै उडान नियमित रूपमा सञ्चालन भइरहेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए ।

    “विगतका दिनहरूमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ,” उनले भने ।

    विमानस्थलको हालको तालिकाभन्दा उडान थप्न सक्ने अवस्था नरहेको र विगतकै क्षमतामा नियमित गरिने विमानस्थलले जनाएको छ ।

    काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्‍याइने जनाएको छ ।

    यता, वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्यमा लगिरहेको विमानस्थलले जनाएको छ ।

    निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार, बिहीबार (भदौ २६) बिहानदेखि  नियमित रूपमा उडानहरू भइरहेका छन् । काठमाडौं र बाहिरका गन्तव्यमा दुई/तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ ।

    ‘जेनजी’ पुस्ताका कारण विषम परिस्थिति उत्पन्न भएपछि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णयानुसार, बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।

    विमानस्थलले हवाई उडानका निम्ति विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर आउन अनुरोध गरेको छ  । यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक ३०० भन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ २५० भन्दा बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ः०० देखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ