काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित दुईमध्ये एक शव नेपाली विद्यार्थी विपीन जोशीको रहेको पुष्टि भएको छ । डीएनए परीक्षणबाट उक्त शव विपीनको भएको खुलेको इजरायली मिडिया द जेरुसेलम पोस्टले उल्लेख गरेको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका विपीनको शव सोमबार साँझ हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको थियो । रेडक्रसले शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।
शव प्राप्त गरेपछि इजरायली सेनाले नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनबाट डीएनए परीक्षण गराएको थियो । डीएनए परीक्षण गराउँदा उक्त शव विपीन रहेको खुलेको हो । यसबारे इजरायली सेनाले विपीनको परिवारलाई जानकारी दिइसकेको र शव बुझ्न अनुरोध गरेको द जेरुसेलम पोस्टले जनाएको छ ।