काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेखेका छन् । गभर्नर पौडेलले जेन-जीले आगो लगाएपछि जलिरहेको आफ्नो घरको भिडियो फेसबुकमा सेयर गर्दै पीडा सनुाएका हुन् । उनले घर जलेको दिन आफूहरू शरणार्थी भएको बताएका छन् ।
भैंसेपाटीस्थित निवासमा आगजनी भएको घरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै गभर्नर पौडेलले आफ्नो घर जलेको घटना दुःखद भए पनि अरु पीडामा परेका नागरिकलाई सम्झिँदै प्रतिक्रिया दिएका छन्।
यस्तो छ गभर्नर पौडेलको स्टाटस
‘यो चाहिँ मेरो भैँसेपाटिको घर जल्दै गरेको भिडियो हो । मैले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाच आना जग्गामा बनाएको घर हो । श्रीमती र मेरी ९ वर्षकी छोरीलाइ यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यहि बस्थ्यौँ । गाडी पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरूको पहिलो खेपको कमेन्ट आएको थियो ।
भित्र यसको बनावट सुन्दर थियो । माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए । देविदेवताका मुर्ती , भियतनामी सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए । जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहि थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यहि थियो ।
अस्ति यो घर जल्नु दुइ घन्टा अघि नै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो । मैले बुझ्दा घरमा केही भएको थिएन । पछि भने घर भित्र मानिस गए । बा आमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए । छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ । त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए ।
राती मेरी छोरी र श्रीमती नजिकको यौटा घर गएर सुते । म परको अर्को ठाउँमा । मेरा साथिहरूलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाडै घर आउँछु र कतै डिनर खाने गर्दिन । त्यो दिन हामि सबै ‘शरणार्थी’ भयौँ । किताब र कपडाहरू धेरै भएकोले ढिलो सम्म नै घर जलिरह्यो । राति पनि केहि व्यक्तिले आएर बेलाबेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरूले सुनाए ।
धेरै साथिहरूले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु । हिजो राति म भन्दा पनि पिडामा परेका व्यक्तिहरूको बारेमा पढेँ । त्यसैले सबैलाई सूचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु । अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र ।
नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ । यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ ।