छठ पर्वको खरनासँगै मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरु भएको छ । सामा चकेवा पर्वको सुरिला गीतहरुले मिथिलाञ्चलाई सुरीलो बनाइरहेको छ । भाई बहिनीको स्नेहको पर्व सामा चकेवाले पूरा मिथिलाञ्चलकै वातावरणलाई मनमोहक बनाउने गर्छ । मिथिलाको पारम्परिक पर्वको रुपमा रहेको सामाचकेवा छठको खरना अर्थात कार्तिक शुक्ल पञ्चमी तिथिबाट शुरु भई पूर्णिमा तिथि अर्थात दश दिनसम्म रातिमा छरछिमेकमा रहेका दाजुभाई हुने दिदिबहिनीहरुले सामुहिक रुपमा खेल्ने गर्दछन् ।
यस पर्वमा माटोबाट सामा, चकेवा, वृन्दावन, चुगला, सातभाईया सहितका पात्रहरु निर्माण गरिन्छ र रातिको समयमा दिदिबहिनीहरु मिथिला संस्कृति झल्किने विभिन्न मैथिली गीतहरु गाउँदै चुगला नामक पात्रलाई गाली गर्दै बनेको हास्यपरिहास्यको माहौलले पर्वलाई मनोरञ्जनात्मक बनाउने गरेका छन् । सामाचकेवा पर्व भाईबहिनीको पर्व मात्र नभई वातावरणीय हिसाबले समेत महत्वपूर्ण रहेको संस्कृतिविद्हरु बताउँछन् ।
पद्म पुराणकाअनुसार भगवान कृष्णकी छोरी श्यामा र बुन्दावनका कुमार चारुबक्य एकअर्कालाई माया गर्थे । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दथे । श्यामा र चारुवक्यलाई माया बन्धनमा बाँधिएको देखेर चुडकले श्यामाको सतीत्वमाथि लाञ्छना लगाउँदै भगवान कृष्णलाई झुठो कुरा सुनाउँछ । भगवान कृष्णले छोरीमाथी क्रुद्ध हुँदै छोरीलाई चरी बन्ने श्राप दिन्छन् । भाई साम्बले पछि बहिनी श्यामालाई चरि योनीबाट मुक्त गराएको स्मरणमा यो पर्व मिथिलाञ्चलमा समेत मनाउन थालिएको हो । –न्युज एजेन्सी नेपाल
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                    