शुक्रबार, कात्तिक १६ गते २०८२

कम्ती रोमाञ्चक छैनन् मार्फाका गल्ली

कम्ती रोमाञ्चक छैनन् मार्फाका गल्ली

अखबार दैनिक
शुक्रबार, कात्तिक १६ २०८२
  • कम्ती रोमाञ्चक छैनन् मार्फाका गल्ली

    अचेल मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि मुस्ताङको मार्फा गाउँ निकै चर्चित छ । दुई वर्षअघि गुमनाम जस्तै रहेको मार्फा पछिल्लो समय पर्यटकको उपस्थिति बढेसँगै यसको चर्चा परिचर्चा चुलिन थालेको हो । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा’ बोलको गीतका सर्जक थिइन् स्वर्गीय बसन्ती लालचन । दुई दशकअघि यो गीत निकै चर्चामा थियो । मुक्तिनाथ मन्दिरसँगै मार्फा गाउँ र स्याउबारीको गीतमा वर्णन गरिएको थियो । यो गीत जति चर्चामा आयो तर पर्यटक आकर्षित गर्न भने सकेन ।

    मार्फाको वास्तविक मौलिकता र यसको महत्व कमैलाई मात्रै ज्ञान हुँदा पर्यटन प्रर्वद्धन हुन नसकेकै हो । मार्फा गाउँ धमाङपछिको स्थान्तरित प्राचीन बस्ती हो । जहाँ अलौकिक धार्मिक, सांस्कृतिक, सामाजिक र परम्परागत मौलिकता लुकेर बसेको छ । यही लुकेको अपार सम्पदालाई पर्यटन प्रवद्र्धनमा जोड्न चाहन्थे मार्फाली समुदाय । पछिल्लो समय आफ्नो गाउँभित्र लुकेको अपार सांस्कृतिक मौलिक सम्पदालाई जोगाएर राख्न सके । एक अजङ्गको पहाड । त्यसको फेदैमा क्या राम्रो चिटिक्क मिलेको मार्फा गाउँ । त्यही बस्ती हो, जहाँ गाउँभित्रको अद्भूत सांस्कृतिक सम्पदा लुकेका छन् । एक सय बढी घरधुरीको बसोबास रहेको मार्फामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको छ । बगैँचामा लटरम्म स्याउ फलाउनु मार्फालीको दैनिकी थियो । तर, अचेल कृषि कर्मसँगै पर्यटनसँग समेत जोडिन थालेका छन् । स्याउ खेतीको पुख्र्यौली व्यवसाय अचेल पर्यटनमा जोडिन थालेको हो ।

    मुस्ताङमा पर्यटन क्षेत्रमा आएको उभार मुख्य सडक मार्ग सहज पहुँच नै हो । मुक्तिनाथ मन्दिर, कागबेनीधाम, लोमान्थाङ दरबार, कोरलानाका, छोसेर गुफा र ढुम्बातालसँगै थासाङ क्षेत्रमा थुपै्र पर्यटकीय गन्तब्यमध्ये मार्फा गाउँ पनि यहाँको मुख्य पर्यटकीय गन्तब्यका रुपमा विकास हुन थालेको मार्फाका स्थानीयबासी आइतप्रसाद हिराचन बताउनुहुन्छ । स्थानीय हिराचनका अनुसार दुई वर्षअघि सुनसान हुने मार्फा गाउँभित्रको गल्लीमा पर्यटकहरुको चहलपहल ब्यापक हुन थालेको उल्लेख गर्नुहुन्छ ।

    मार्फा गाउँभित्रको पुरानो बस्ती र बस्तीभित्रको परम्परागत सांस्कृतिक मौलिकता अवलोकन गर्न पर्यटकहरुको आगमन हुने गरेको स्थानीय हिराचनको भनाइ छ । उहाँका अनुसार दसैँ, तिहार र छठपर्वको बिदामा पर्यटकको भीड बढेको र यहाँका गल्लीभित्र मात्रै दैनिक रु १५ लाख बढीको आर्थिक कारोबार हुने गरेको जानकारी दिनुभयो । यहाँको मार्फा गाउँभित्र सदिंयौ वर्ष पुराना ढुङ्गा र माटोले निर्मित एकापसमा जोडिएका घरहरु जीवन्त छन् । राष्ट्रिय राजमार्गको बेनी—जोमसोम सडक नजिकै रहेको मार्फा गाउँको भित्री बस्ती हेर्न, फोटो, भिडियो र टिकटक बनाउन पर्यटकहरुको भीड नै लाग्ने गरेको पाइएको छ । मुक्तिनाथको दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटकहरु गाडी रोकेर दुई/तीन घण्टा सम्म बिताउने गरेको पाइएको छ ।

    चितवनबाट मुस्ताङ भ्रमण गर्न आएका पर्यटक विनोद ढकालले सडकको सहज पहुँच भइरहेकाले पर्यटकहरु मुस्ताङ घुम्न रुचाउने गरेको बताउनुभयो । यहाँका धार्मिक पावन भूमि मुक्तिनाथको दर्शन गरी मार्फाको सौन्दर्यता अवलोकन गर्न पाउँदा गौरान्वित भएको प्रतिक्रिया जनाउनुभयो । यहाँको मार्फामा भाइरल भाइरल गल्लीहरु रहेको र साँघुरो गल्लीभित्रको यति ठूलो पर्यटकीय मानव सागर पहिलोपटक देखेको अनुभूति सुनाउनुभयो । आफ्नै देशको यो ठाउँ र यहाँको सांस्कृतिक जीवन्त कला संस्कृति कमै भेटिने गरेकाले मार्फा गाउँको सौन्दर्यताले आफूलाई मोहित तुल्याएको उहाँले बताउनुभयो ।

    मार्फा गाउँ पहाडको भिरालो सतहमा अवस्थित छ । वस्तीका सबै घरहरु एकापसमा गुजमुच्च जोडिएका छन् । गल्लीभित्र दर्जनांै शाखा गल्लीहरु रहेका छन् । मुख्य राजमार्ग सडकको उत्तर÷दक्षिणसम्म मार्फा गाउँको लम्बाई करिव पाँच सय मिटरभन्दा बढी छ । उक्त दूरीमा रहेको मुख्य गल्लीभित्र चाहार्दै जाँदा दर्जनौं साघुरा शाखा गल्लीहरु भेटिन्छन् । जुन पर्यटकका लागि फरक अनुभूति दिलाउँछ ।

    मकवानपुरबाट शिक्षकहरुसँगै मुस्ताङ भ्रमणमा आएका बिद्यार्थी टोली पनि मार्फा गल्लीमा भेटिए । टोलीका विद्यार्थी सीमा तामाङ र अनुस्का तामाङ मार्फा गल्लीभित्र मोवाइलबाट टिकटक बनाउन व्यस्त देखिन्थे । मुस्ताङको मार्फामा आएका थकाली र तिब्बतीय संस्कृति झल्काउन मौलिक वेषभूषा लगाएर टिकटक बनाउन खोजेको उनीहरुको भनाइ थियो । विद्यार्थी सीमा तामाङले भन्नुभयो, ‘‘मार्फा गाउँभित्र पसेर टिकटक बनाउन पाउँदा खुसी लागेको छ । सायद यहाँको प्राचीन संस्कृति निकै लोभलाग्दो रहेछ ।’’ अर्का विद्यार्थी अनुस्का तामाङले पुराना घरहरुमा लस्करै दाउरा पाजेर राखेको देख्दा कौतुहलता बढेको बताउनुभयो । सबैसबै घरहरुको छत माथि लस्कर दाउरा पाजिएका छन्, के का लागि राखिएको होला कुन्नि रु उनले प्रतिप्रश्न गरिन् । सहरको कोलाहल र प्रदूषणभन्दा यहाँको हावापानीको स्वच्छता र शान्तमय वातावरणले आफूहरु प्रफुल्ति भएको सुनाउनुभयो ।

    यहाँको मार्फा गाउँमा सडक सञ्जालको पहुँच राम्रो नहुँदा आकलझुकल विदेशी पर्यटकहरु पुग्थे, तर अचेल मार्फा गाउँमा आन्तरिक पर्यटकहरु आइरिन थालेका छन् । मार्फा गाउँभित्रको गल्लीमा दर्जनौँ पर्यटक लक्षित होटलहरु सञ्चालनमा छन् । पछिल्लो समय सडक सहज भएसँगै कतिपय मार्फाली समुदाय सडकमार्गसँगै जोडिएका स्याउ बगैंचा मासेर आधुनिक प्रकारका कंक्रिट ठूला पर्यटक लक्षित होटलहरु निर्माण गर्ने होटबाजी नै चलेको छ ।

    घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले मार्फा गाउँभित्र कसैले पनि पुराना घरहरु मासेर आधुनिक घरहरु निर्माण गर्न नपाइने गाउँलेहरुले नियम बनाएको जानकारी दिनुभयो । यहाँको गल्लीभित्रको सम्पदा पर्यटकीय तथा सांस्कृतिक सम्पती भएकाले यसलाई मासेर आधुनिकतातर्फ लम्किनु आत्मघाती हुने भएकाले मार्फा गाउँबासी यसतर्फ सचेत रहेको बताउनुभयो ।

    पर्वतका नितेन श्रेष्ठले मुस्ताङ योसँगै तेस्रोपटकको भ्रमण रहेको बताउनुभयो । मोटरसाइकल चढेर साथीहरुसँगै मुक्तिनाथ दर्शन र कोरलानाका घुम्ने योजना बनाएका श्रेष्ठले मार्फा गाउँमा भ्रमण यात्रा सुरु गरेको जानकारी दिनुभयो । ‘‘पहिलो पटक तीन वर्षअघि आउँदा यहाँ कोही पर्यटक आएको देखिएको थिएन, अहिले तेस्रोपटक आउँदा यहाँ आउँदा त पर्यटकले थेगिसक्नु रहेछ’’, श्रेष्ठले भन्नुभयो, ‘‘गाउँभित्रको सौन्दर्यता बढाइएको रहेछ, गल्लीगल्लीमा नामाकरण गरिएको रहेछ ।’’ मार्फा गाउँले पर्यटन बढाउने तरिका अपनाएकै कारण यस ठाउँको महत्व बढेको श्रेष्ठले सुनाउनुभयो ।

    पोखराकी सोनी गुरुङ पनि मार्फामा साथीहरुसँगै भेषभूषा लगाएर टिकटक बनाउँदै थिइन् । यसैबीचमा उहाँलाई सोधिएको प्रश्नमा सोनी भन्नुहुन्छ, ‘‘मुस्ताङ जिल्ला स्वर्गको एक टुक्रा हो, यहाँ आएपछि सबै दुःख पीडा थकान बिर्साइदिन्छ, साँच्चै मुस्ताङ एक पटक घुम्नै पर्ने जिल्लाको हो ।’’ मुस्ताङ घुम्ने क्रममा मार्फा गाउँमा पस्दा निकै रमाइलो अनुभूति भइरहेको सोनीले उल्लेख गर्नुभयो । पर्यटकको भीडले गल्ली पूरै भरिएको देख्दा ठमेल बजारको याद दिलाइएको सोनीले उल्लेख गर्नुभयो । यहाँभित्र गल्लीगल्लीहरु चाहर्दा पृथक प्रकारको रमाइलो भएको उहाँको भनाइ छ ।

    मुस्ताङ भ्रमणका लागि मार्फा आउनु भएका भक्तपुरका पर्यटक सुर्दशन न्यौपानेले धार्मिक तथा पर्यटकीय जिल्लाको पर्यटन प्रर्वद्धनका निम्ति सरोकारवाला निकायहरु सचेत रहनुपर्ने सुझाउनुभयो । मुस्ताङ पर्यटकीय हब भइसकेको र यसको उपयुक्त व्यवस्थापन गर्न नसकेमा दुरगामी असर पार्ने उल्लेख गर्नुभयो । यहाँ आएका पर्यटकहरुले बुक गरेका होटलहरु पनि सञ्चालकहरुले धोका दिएर बढी मूल्यमा अरुलाई दिने गरेको र यसले मुस्ताङको छविलाई बिगार्ने भएकाले त्यस्तो नगरिदिन अनुरोध गर्नुभयो । मुस्ताङ भ्रमण गर्न आएका पर्यटकहरुमध्ये कतिपयले होटल र खान बस्नको सुविधा नपाउँदा सास्ती पाएको बताउनुभयो ।

    यहाँको मार्फा गाउँभित्र सम्तेन ध्योलिङ बुद्धिस गुम्बा छ । गाउँभित्रको बिजुलीका तारहरु समेत पूरै भूमिगत गरिएको छ भने गाउँभित्रका घरहरुमा लस्करै लुङ्ता झुन्डइएका पनि मार्फा गाउँभित्रको सौन्दर्यता बढाइदिएको छ । स्याउ बगानमा लटरम्म स्याउ फल्ने याममा पर्यटकहरु स्याउ बगैंचा अवलोकन गरे बेग्लै अनुभूति लिनसक्ने सुविधा छ । पछिल्लो समय घरपझोङ गाउँपालिकाले गाउँ नजिकैको थुम्को स्टेट फ्रि टावर निर्माण गरेको छ । टावरमा पुगेका पर्यटकले मार्फा गाउँको सौंन्दयैता अवलोकन गर्न पाउँछन् । मार्फामा आधा दर्जनभन्दा बेसी स्याउको प्रशोधित डिस्टिलरी संञ्चालनमा छन् । डिस्टिलरीमा पर्यटकले ब्रान्डी बनाएको समेत हेर्न सकिने सुविधा छ ।

    यसैगरी मुस्ताङमा स्याउ उत्पादन तथा स्याउ प्रविधि प्रशारणका लागि स्थापित ५० वर्ष पुरानो शीतोष्ण बागवानी विकास केन्द्र छ । यहाँ पर्यटकहरुले कृषिसम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सक्छन् । यहाँको मार्फा गाउँ पर्यटकीय गन्तब्यका रुपमा मात्रै होइन स्वदेशी तथा विदेशी चलचित्र केन्द्रको रुपमा समेत विकास हुन थालेको छ । मार्फामा नेपाली चलचित्र जेरी, कबड्डी, प्रेम गीतलगायतका दर्जनौं चलचित्र छायाङ्कन भइसकेको छ । यहाँको परम्परागत धर्म संस्कृति र रीतिरिवाज र थकाली सभ्यता र यहाँको प्राकृतिक सौन्दर्यताका कारण मुस्ताङको मार्फा चलचित्र स्पटको रुपमा समेत चिनिन थालेको हो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार