शुक्रबार, मंसिर ७ गते २०८२

सार्वजनिक बस नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या

सार्वजनिक बस नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या

अखबार दैनिक
शुक्रबार, मंसिर ७ २०८२
  • सार्वजनिक बस नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या

    सङ्घीय राजधानी काठमाडौँ उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

    काठमाडौँ महानगरपालिकाले २०८० जेठ १९ गते सूचना प्रकाशित गरी २०८० असार १ गतेदेखि उपत्यकाबाहिर जाने सम्पूर्ण यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि साढे दुई वर्ष बितिसक्दासमेत उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरले सबै सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्क भित्रबाट सञ्चालन गर्न पहल गर्दै आएको बताउनुभयो ।

    “महानगरपालिकाको निर्णयपछि केही सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन्, बाँकी सवारीसाधन पनि बसपार्क भित्रबाटै सञ्चालन हुनुपर्छ,” उहाँले भन्नुभयो । नगर प्रहरी प्रमुख पाण्डेले महानगरले गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न समस्या भएको बताउनुभयो । सबै क्षेत्रको साथ र सहयोगले निर्णय कार्यान्वयन गर्न महानगर प्रहरी प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

    हाल काठमाडौँको गौशाला, चावहिल, बालाजु, माछापोखरी, कलङ्की, कोटेश्वर, बल्खुलगायतका चक्रपथ वरपर सडक तथा करिडोरबाट सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् । महानगरपालिकाले गोँगबुस्थित विष्णुमती किनारमा आफ्नै स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा नयाँबसपार्क निर्माण गरेर लोत्से बहुउद्देश्यीय प्रालिलाई सञ्चालनका लागि दिएको छ ।

    महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यातायात व्यवसायीको अटेरीका कारण नयाँबसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको बताउनुभयो । “हामीले सूचना जारी गरेर सबै सार्वजनिक सवारीसाधनलाई अनिवार्य रूपमा नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने भनेका थियौँ तर यातायात व्यवसायी अटेर गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।

    महानगरपालिकाले सूचना निकालेपछि काठमाडौँबाट पोखरा, चितवन, बुटवललगायत क्षेत्रमा सञ्चालन हुने ठूला तथा माइक्रोबस नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह निर्वाचित भएर आएसँगै महानगरपालिकाले चक्रपथको वरपर जथाभावी रूपमा सञ्चालन भएका १०० भन्दा बढी बस टिकट काउन्टर हटाएको थियो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले राजधानीभित्रको सार्वजनिक सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न व्यवसायी तयार रहेको बताउनुभयो । “यात्रु, व्यवसायी र सरकार सबैलाई सहज हुने ढङ्गले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो । हाल गोँगबुस्थित नयाँबसपार्कबाट दैनिक लामो दूरीका ३०० र छोटो तथा मध्यम दूरीका २०० बस देशका विभिन्न भागका लागि गुड्छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार