काठमाडौं । जापानले बुधबार भालु नियन्त्रणमा लिन देशका विभिन्न क्षेत्रमा सेल्फ–डिफेन्स फोर्सेस (एसडीफ) अर्थात् सेना परिचालन गरेको छ । भालु नियन्त्रण विभागका अधिकारीहरूका अनुसार, यहाँका पहाडी क्षेत्रमा भालुको आतंक तीव्र रूपमा बढ्दै गएको छ ।
अप्रिलदेखि हालसम्म देशभर १०० भन्दा बढी भालु आक्रमणका घटना भएका छन्, जसमध्ये १२ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै हताहती अकिता प्रान्त र यसको छिमेकी इवाते सहरमा भएको छ । अकितामा भालु देखिने घटनाहरू यस वर्ष ६ गुणा बढेर ८ हजारभन्दा बढी पुगेका छन् ।
स्थिति नियन्त्रणबाहिर गएपछि प्रान्तका गभर्नरले सेनासँग सहयोग मागेका थिए । बुधबार एडीएफका सैनिकहरू काजुनो सहर पुगेका छन्, जहाँ उनीहरूले भालुहरू समात्नका लागि स्टिलका जालहरू राख्न स्थानीय अधिकारीहरूलाई सहयोग गरिरहेका छन् ।
अर्कोतर्फ, भालु मार्ने जिम्मा तालिमप्राप्त शिकारीहरूलाई दिइएको छ । अधिकारीहरूले नागरिकहरूलाई भालुबाट बच्नका लागि घरबाहिर घण्टी राख्न सल्लाह दिएका छन्, ताकि तीव्र आवाज सुनेर भालु घरनजिक नआउन् ।
काजुनो सहरका करिब ३० हजार बासिन्दालाई जंगल क्षेत्रबाट टाढा रहन, राति घरबाट बाहिर ननिस्कन, घण्टी राख्न र ठूलो आवाज प्रयोग गरेर भालुहरूलाई भगाउन सल्लाह दिइएको छ ।
सहरवासीहरूले सञ्चारमाध्यमलाई भने, “पहिले भालुहरू सहरतिर आउँदैनथे तर अब तिनीहरू सहरतिर आउन थालेका छन् । यी निकै डरलाग्दा भएका छन्, र हामीलाई यिनीहरूबाट डर लाग्छ ।”
मेयर शिन्जी सासामोतोका अनुसार, डरका कारण मानिसहरू बाहिर निस्कन छाडेका छन् । धेरै कार्यक्रमहरू स्थगित गरिएका छन् । सेनाले नोभेम्बरको अन्त्यसम्म काजुनोका साथै ओडेट र किताअकिता सहरहरूमा पनि सहयोग गर्नेछ ।
भालुहरूको आक्रमण सुपरमार्केट, नजिकका रिसोर्ट, बस स्टप र विद्यालय परिसरसम्म पुगेको छ । यहाँ केही विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएको छ ।
वातावरण मन्त्रालयका अनुसार, जलवायु परिवर्तनका कारण जंगल क्षेत्र घट्दै गएको छ । बाँकी रहेका जंगलमा पनि भालुलाई पर्याप्त भोजन नपाउँदा तिनीहरू खानाको खोजीमा जनघनत्व भएको क्षेत्रतर्फ आउन थालेका छन् ।
सामान्यतया अक्टोबर र नोभेम्बरमा जब भालुहरू शीतनिद्रा (हाइबरनेशन)मा जानुअघि बढी भोजन जम्मा गर्छन्, त्यतिबेला आक्रमणका घटनाहरू बढ्ने गर्छन् ।
यस्तो अवस्थाले गर्दा भालु मार्ने सम्बन्धी नियमहरू केही खुकुलो पारिएका छन् । क्याबिनेट सचिव केई सातोले भने, “भालुहरू अहिले दैनिक रूपमा आबादी भएका क्षेत्रमा पस्दै छन् र आक्रमणको संख्या बढ्दै गएको छ । हामीले तत्काल कदम चाल्नुपर्छ ।” जंगली जनावरहरूलाई नियन्त्रणमा लिन जापानले सेना परिचालन गरेको यो पहिलोपटक होइन । यसअघि पनि जंगली हरिण र सिललाई नियन्त्रण गर्न सेनाको सहयोग लिइएको थियो ।
करिब एक दशकअघि सेनाले जंगली हरिणहरूको शिकारका लागि हवाई निगरानी गरेको थियो । सन् १९६० को दशकमा माछापालनका लागि सी–लायन (समुद्री सिंह) मारिएको थियो । राेयटर्स
