काठमाडाैं । २०५१ सालपछि नेपाली काँग्रेस सत्तामा पुगेसँगै संगठनभन्दा सत्ता–केन्द्रित राजनीतितर्फ उन्मुख हुन थाल्यो । गिरिजाप्रसाद कोइराला र गणेशमान सिंह धार बीचको मतभेद, त्यसपछि कृष्णप्रसाद भट्टराईसँगको टकरावले पार्टीभित्र “नेतृत्व बनाम सिद्धान्त” को द्वन्द स्पष्ट बनायो । यसले काँग्रेसलाई जनतामा भन्दा आफ्नै गुट–उपगुटमा अल्झाइदियो, जसको परिणाम २०५६ सालको संसद विघटन र आन्तरिक अविश्वासको रूपमा देखियो ।
२०६० दशकतिर आइपुग्दा शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइराला समूहबीचको संघर्षले पार्टी औपचारिक रूपमा नै फुटको संघारमा पुग्यो । देउवाको नेतृत्वमा बनेको काँग्रेस (प्रजातान्त्रीक) र मूल काँग्रेसबीचको विभाजनले माओवादी द्वन्दको कठिन कालमा पार्टीलाई कमजोर बनायो । यद्यपि २०६४ सालतिर पुनः एकता सम्भव भयो, तर त्यो एकता वैचारिक भन्दा पनि परिस्थितिजन्य देखियो, जसले दीर्घकालीन स्थायित्व दिन सकेन ।
संविधानसभा पछिको कालखण्डमा नेतृत्व चयन, सरकार गठन, र गठबन्धन राजनीतिमा केन्द्रित प्रतिस्पर्धाले फेरि पार्टीलाई गुटगत राजनीतिमा धकेल्यो । १४औँ महाधिवेशनसम्म आइपुग्दा देउवा पक्ष र परिवर्तन चाहने युवा–सुधारवादी धारबीचको दूरी स्पष्ट थियो । संगठन सुदृढीकरणभन्दा शक्ति सन्तुलनमा बढी ध्यान दिइँदा, वी पी को समाजवादी–प्रजातान्त्रिक मार्ग व्यवहारमा ओझेल पर्दै गयो ।
२०८२ सालको यस विशेष महाधिवेशनले भने विगतका यी तिक्तता र तृष्णालाई केही हदसम्म आत्मसमीक्षा गर्ने अवसर दिएको देखिन्छ । २०५१ देखि निरन्तर चल्दै आएको आन्तरिक द्वन्दले क्षतविक्षत बनेको पार्टीलाई पुनः “एक ढिक्का” बनाउने आकांक्षा बलियो रूपमा उठेको छ । नतिजा सबैका अपेक्षाअनुसार नआए पनि संवाद, प्रतिस्पर्धा र सहअस्तित्वको अभ्यासमार्फत नेपाली काँग्रेसलाई पुनः वी पी पथतर्फ फर्काउने सम्भावनाको ढोका यस विशेष महाधिवेशनले खोलेको छ । यही अर्थमा यसलाई काँग्रेसको पुनर्जन्मतर्फको सुनौलो पाइला भन्न सकिन्छ ।
लेखक : कुमार अधिकारी

प्रतिक्रिया दिनुहोस