आइतबार, भदौ १४ गते २०८३

एसीसी प्रिमियर कप : समूह चरणमा नेपालका चार चुनौतीपूर्ण प्रतिद्वन्द्वी

एसीसी प्रिमियर कप : समूह चरणमा नेपालका चार चुनौतीपूर्ण प्रतिद्वन्द्वी

नेपालले समूह चरणमा बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलसम्म पुग्न नेपालको बाटो सहज नै देखिन्छ ।

images
अखबार दैनिक
मंगलबार, भदौ ९ २०८३
  • एसीसी प्रिमियर कप : समूह चरणमा नेपालका चार चुनौतीपूर्ण प्रतिद्वन्द्वी

    काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली आगामी सातादेखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्दैछ । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताका लागि नेपाली टोली मलेसिया पुगिसकेको छ ।

    नेपालको मुख्य लक्ष्य प्रिमियर कपको उपाधि जित्दै दोस्रोपटक एसिया कपमा स्थान बनाउनु हो । प्रतियोगिताको उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउनेछ भने शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा खेल्ने अवसर पाउनेछन् ।

    नयाँ कप्तान र परिमार्जित टोलीसहित मैदानमा उत्रिन लागेको नेपालले समूह चरणमा बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

    यी चारै टोली नेपालका लागि परिचित प्रतिद्वन्द्वी भए पनि पछिल्लो प्रदर्शन, खेलाडीको क्षमता र मलेसियाको घरेलु परिस्थितिका कारण समूह चरण नेपालका लागि सहज हुने देखिँदैन ।

    बहराइन : ५० ओभरमा पहिलो भेट

    bahrain-cricket.jpg

    नेपालले बहराइनसँग पहिलोपटक ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । यसअघि छोटो फर्म्याटमा भेट भए पनि एकदिवसीय क्रिकेटमा यी दुई टोली पहिलोपटक आमनेसामने हुँदैछन् ।

    बहराइनले पछिल्लो समय विश्वकप च्यालेन्ज लिग बीमा राम्रो अनुभव हासिल गरेको छ । उसले सिंगापुर, तान्जानिया र युगान्डाजस्ता टोलीलाई समेत पराजित गरिसकेको छ ।

    च्यालेन्ज लिगमा आसिफ अलीले ११ खेलमा ३४० रन, सोहेल अहमदले १४ खेलमा ३०० रन तथा अहमर बिनले १४ खेलमा २९२ रन बनाएका थिए ।

    बलिङतर्फ अब्दुल माजिदले १३ खेलमा १८ विकेट तथा रिजवान बटले १३ खेलमा १७ विकेट लिएका छन् ।

    यसकारण ५० ओभरको क्रिकेटमा राम्रो अनुभव बटुलेको बहराइनलाई नेपालले कमजोर प्रतिद्वन्द्वीका रूपमा लिन सक्ने अवस्था छैन ।

    मलेसिया : घरेलु मैदानको फाइदा

    malaysia-cricket1.jpg

    मलेसियासँग नेपालले पछिल्लो समय टी–२० क्रिकेटमा नियमित रूपमा प्रतिस्पर्धा गर्दै आएको छ । तर ५० ओभरको क्रिकेटमा भने नेपाल र मलेसियाबीच तीन वर्षपछि भेट हुँदैछ ।

    प्रतियोगिताअघि नेपाल र मलेसियाबीच अभ्यास खेलसमेत हुँदैछ । यद्यपि उक्त खेलको नतिजा आधिकारिक तथ्याङ्कमा समावेश हुनेछैन ।

    सन् २०२३ को एसीसी प्रिमियर कपमा मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले सफलतापूर्वक पछ्याउँदै जित निकालेको थियो । त्यसअघि सन् २०१८ को एसिया कप छनोटमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो ।

    यसपटक भने मलेसियालाई घरेलु मैदानको विशेष फाइदा हुनेछ । विरानदीप सिंह, साइद अजिज र विजय उन्नी जस्ता खेलाडी नेपालका लागि चुनौती बन्न सक्छन् ।

    घरेलु परिस्थितिसँग परिचित मलेसिया समूह चरणमा नेपालको महत्वपूर्ण प्रतिद्वन्द्वी बन्न सक्छ ।

    हङकङ : अनुभव र बलियो खेलाडीको साथ

    hong-kong-cricket.jpg

    हङकङ पनि पछिल्लो समय विश्वकप च्यालेन्ज लिग बीमा प्रतिस्पर्धा गर्दै आएको टोली हो । ५० ओभरको क्रिकेटमा लामो अनुभव रहेको हङकङसँग स्तरीय खेलाडीहरूको समूह छ ।

    नेपाल र हङकङबीच एकदिवसीय क्रिकेटमा पछिल्लो भेट करिब आठ वर्षअघि भएको थियो । त्यसयता दुवै टोलीले छोटो फर्म्याटमा भने पटक–पटक प्रतिस्पर्धा गरेका छन् ।

    हङकङका अन्शुमन राथ, बाबर हायात र यासिम मुर्तजा प्रमुख खेलाडीका रूपमा रहेका छन् । च्यालेन्ज लिगमा राथले १४ खेलमा ५२९ रन, बाबरले ३४१ रन तथा यासिमले ३३९ रन बनाएका थिए ।

    बलिङतर्फ यासिम मुर्तजाले १४ खेलमा २५ विकेट, एहसान खानले २२ विकेट तथा अतिक इकबालले १५ विकेट लिएका थिए ।

    अनुभव र व्यक्तिगत क्षमताका आधारमा हङकङ नेपालका लागि समूह चरणकै बलियो प्रतिद्वन्द्वीमध्ये एक हुनेछ ।

    साउदी अरेबिया : १४ वर्षपछि प्रतिस्पर्धा

    saudi-arabia-cricket-768x466.jpg

    साउदी अरेबियासँग नेपालको ५० ओभरको क्रिकेटमा लामो समयपछि भेट हुन लागेको छ । पछिल्लोपटक नेपाल र साउदीबीच सन् २०१२ को एसीसी ट्रफी इलिटमा प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाल विजयी भएको थियो ।

    सन् २०२३ को एसीसी प्रिमियर कपमा पनि नेपाल र साउदीबीच खेल तय भएको थियो । तर माथिल्लो मुलपानीमा निर्धारित खेल वर्षाका कारण मैदान भिजेपछि रद्द भएको थियो ।

    यसपटक नेपालले साउदीविरुद्ध १४ वर्षपछि ५० ओभरको पूरा खेल खेल्ने अवसर पाउनेछ ।

    समूह चरणमै तय हुनेछ नेपालको यात्रा

    समग्रमा नेपालले समूह चरणमा फरक–फरक चुनौती सामना गर्नुपर्नेछ । बहराइनसँग पहिलोपटक ५० ओभरमा भिड्दा मलेसिया र हङकङसँग लामो अन्तरालपछि एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा हुनेछ । साउदी अरेबियासँग भने १४ वर्षपछि भेट हुँदैछ ।

    समूह चरणमा पाँच टोलीमध्ये शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । अर्को समूहबाट यूएई वा ओमान नेपालका सम्भावित सेमिफाइनल प्रतिद्वन्द्वी हुन सक्छन् ।

    यूएई र ओमान पछिल्लो समय नेपालका परिचित प्रतिद्वन्द्वी हुन् । त्यसैले समूह चरण पार गरेपछि यीमध्ये कुनै एक टोलीसँग हुने सम्भावित भिडन्त निकै प्रतिस्पर्धात्मक बन्न सक्छ ।

    नेपालले फाइनलमा पुगेर उपाधि जित्न सके दोस्रोपटक एसिया कपमा स्थान बनाउनेछ । त्यसैले समूह चरणका चार खेल नै नेपालको एसिया कप यात्राका लागि निर्णायक बन्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ