२५ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
पहिलो सेट २१–२५ ले गुमाएको अन्नपूर्णले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–२३, तेस्रो २५–१४ र चौथो सेट २५–२० ले जित्यो। अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए।
छ टोली सहभागी प्रतियोगितामा अन्नपूर्णको यो लगातार चौथो जित हो। अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–०, मधेश वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले पराजित गरेको थियो।
यता, लगातार तेस्रो हारसँगै सगरमाथा प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतियोगिताको फाइनल भदौ २७ गते हुनेछ। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस