अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी आयरल्यान्ड र आयरल्यान्ड गणतन्त्रको एकीकरणको समर्थन दोहोर्याउँदै दुवै भूभाग एउटै राजनीतिक अस्तित्वमा रहनु स्वाभाविक हुने बताउनुभएको छ । उहाँको अभिव्यक्तिले उत्तरी आयरल्यान्डको संवैधानिक भविष्यबारेको संवेदनशील बहसलाई पुनः तताएको छ ।
दूनबेगस्थित आफ्नो गल्फ कोर्समा आइतबार आइरिस ओपनमा सहभागी हुने क्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । यसअघि शनिबार पनि उहाँले आयरल्यान्डको एकीकरणको सम्भावनालाई ‘उत्कृष्ट’ बताउनुभएको थियो । आयरल्यान्डका प्रधानमन्त्री मिचेल मार्टिनले भने यस विषयमा शान्त र संयमित दृष्टिकोण अपनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो धारणा व्यक्तिगत राय भएको र त्यसलाई व्यापक समर्थन प्राप्त भएको बताउनुभयो ।
आयरल्यान्डको विभाजनपछि उत्तरी आयरल्यान्डका छ काउन्टी संयुक्त अधिराज्यमै रहेका छन् । एकीकरण समर्थक राष्ट्रवादी र बेलायतमै रहन चाहने युनियनवादीबीचको विभाजनले सन् १९६० को दशकको अन्त्यदेखि दशकौँ लामो हिंसा निम्त्याएको थियो । ‘द ट्रबल्स’ भनिने उक्त द्वन्द्वमा करिब तीन हजार छ सय जनाको मृत्यु भयो ।
सन् १९९८ को गुड फ्राइडे सम्झौताले हिंसा अन्त्य गर्दै उत्तरी आयरल्यान्डको संवैधानिक भविष्य जनताको इच्छामा निर्भर रहने व्यवस्था गरेको छ । सम्झौताअनुसार एकीकरणको पक्षमा बहुमत पुग्ने पर्याप्त आधार देखिएमा जनमतसङ्ग्रह गर्न सकिनेछ । बेलायत सरकारले भने त्यस्तो मतदानका लागि आवश्यक अवस्था अझै नबनेको बताउँदै आएको छ ।
उत्तरी आयरल्यान्डका डेमोक्रेटिक युनियनिस्ट पार्टीका नेता गेभिन रोबिन्सनले राष्ट्रपति ट्रम्पको टिप्पणीको आलोचना गर्दै संवैधानिक भविष्य त्यहाँका जनताले नै निर्धारण गर्ने बताउनुभएको छ । ब्रिटिस सरकारले पनि गुड फ्राइडे सम्झौताप्रतिको आफ्नो समर्थन दोहोर्याउँदै जनमतसङ्ग्रहका लागि आवश्यक परिस्थितिमा मात्र विचार गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस