मंगलबार, असोज २० गते २०८३

कांग्रेसमा नेतृत्वको दौड सुरु, आज उम्मेदवारी दर्ता हुँदै

कांग्रेसमा नेतृत्वको दौड सुरु, आज उम्मेदवारी दर्ता हुँदै

अखबार दैनिक
मंगलबार, असोज २० २०८३
  • कांग्रेसमा नेतृत्वको दौड सुरु, आज उम्मेदवारी दर्ता हुँदै

    काठमाडौं २०, असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। महाधिवेशनका ७ हजार ११४ प्रतिनिधिले पार्टीको आगामी नेतृत्व चयन गर्नेछन्।

    निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी बिहान १० बजेदेखि उम्मेदवारी दर्ता फारम वितरण सुरु गरेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार उम्मेदवारी दिन इच्छुक प्रतिनिधिले निर्धारित प्रक्रिया पूरा गरी फारम लिन सक्नेछन्।

    महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ। उम्मेदवारी दर्ताका लागि तोकिएको शुल्क प्रभु बैंकका कर्मचारीलाई बुझाएपछि उम्मेदवारले फारम प्राप्त गर्ने व्यवस्था गरिएको छ।

    निर्वाचन समितिका अनुसार आज दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। त्यसपछि निर्वाचनसम्बन्धी अन्य प्रक्रिया अघि बढाइनेछ।

    यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार उल्लेख्य रूपमा बढाएको छ। सोमबार पारित संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाइएको छ।

    त्यस्तै, पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्‍याइएको छ। नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएका छन्। अब कांग्रेसमा उपसभापतिको संख्या चार पुगेको छ।

    महामन्त्रीको संख्या तीन पुर्‍याइएको छ भने एक महिला महामन्त्री अनिवार्य गरिएको छ। दुई खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ।

    कांग्रेसले यसपटक प्रवक्ता पद पनि थप गरेको छ। आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

    १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय र पदाधिकारी संख्या १४ थियो। यसपटक प्रतिनिधित्व र समावेशी सहभागिता बढेसँगै पार्टीको केन्द्रीय संरचना पनि विस्तार गरिएको कांग्रेसको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ