बिहीबार , असोज २२ गते २०८३

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

images
अखबार दैनिक
बुधबार, असोज २१ २०८३
  • इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

    जेरुसेलम, २१ असोज  हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको तयारी गरिरहेको इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका विरोधीहरूले उक्त घटनालाई चुनावी अभियानको मुख्य मुद्दा बनाएका छन् । सुरक्षा विफलता, युद्ध र सरकारको जिम्मेवारीका विषयले चुनावी बहसलाई प्रभावित गरेको छ ।    
        
    इजरायलडेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताउनुभयो । विपक्षीहरूले आक्रमणको सुरक्षा विफलताको जिम्मेवारी नेतान्याहुले लिनुपर्ने भन्दै घटनाबारे आधिकारिक अनुसन्धान आयोग गठन र सुधार तथा पुनर्निर्माणमा केन्द्रित सरकार बनाउने प्रतिबद्धता जनाएका छन् । नेतान्याहुका समर्थकहरूले भने सैन्य नेतृत्वको कमजोरीका बाबजुद उहाँले देशलाई कठिन परिस्थितिबाट अघि बढाउनुभएको दाबी गरेका छन् ।    
        
    अक्टोबर २७ मा हुने चुनावमा नेतान्याहुको भविष्यसमेत जोडिएको छ । सन् २०२३ को आक्रमणमा करिब एक हजार दुई सय मानिस मारिएका र २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गर्दा स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार ७४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । युद्ध लेबनान, सिरिया, यमन र इरानसम्म फैलिएको छ ।    
        
    नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण विजय’ को प्रतिबद्धता जनाउँदै आउनुभएको छ । प्रमुख सुरक्षा अधिकारीहरूले राजीनामा दिएपछि उहाँ अक्टोबर ७ पछि पदमा रहनुभएका एकमात्र वरिष्ठ अधिकारी हुनुहुन्छ । प्रमुख प्रतिद्वन्द्वी पूर्व सैन्य प्रमुख गदी आइसेनकोटले आक्रमणमा छोरा र भतिजा गुमाउनुभएको छ ।    
        
    चुनावी बहसमा गाजाको मानवीय सङ्कट र प्यालेस्टिनी राज्य स्थापनाबारे भने कमै चर्चा भएको छ । इजरायल डेमोक्रेसी इन्स्टिच्युटका अनुसार ६० प्रतिशतभन्दा बढी इजरायलीले अक्टोबर ७ को घटनाप्रतिको धारणा मतदानको निर्णयमा प्रमुख कारक रहेको बताएका छन् । यहुदी मतदातामध्ये यस्तो धारणा राख्नेको सङ्ख्या ६८ प्रतिशत छ । हर्मनका अनुसार घटनालाई महत्त्वपूर्ण ठान्ने मतदाताबीच पनि त्यसबाट निकालिएको राजनीतिक निष्कर्ष भने फरक–फरक छ ।  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ