नुवाकोट, २५ असोज। भोटेकोशी नदीमा आएको बाढीले बेत्रावतीस्थित फलाखु खोलाका दुईवटै मोटरेबल पुल बगाएपछि अवरुद्ध बनेको रसुवासँगको यातायात सम्बन्ध ४७ दिनपछि पुनः जोडिएको छ। पुल बगेको स्थानमा बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएपछि नुवाकोट र रसुवाबीच सवारी आवागमन सुरु भएको हो।
गत भदौ १० गते आएको बाढीले फलाखु खोलामा रहेका नयाँ र पुराना दुवै पुल बगाएपछि यस क्षेत्रको यातायात सेवा पूर्णरूपमा प्रभावित भएको थियो। पुल नहुँदा स्थानीयवासी, यात्रु तथा बाढीबाट प्रभावित नागरिकले लामो समयसम्म सास्ती भोग्नुपरेको थियो।
अवरुद्ध सडक सम्पर्क पुनःस्थापना गर्न नेपाली सेनाले दुई सातामै मोडुलर एक्रो ब्रिज अर्थात् बेलिब्रिज निर्माण गरेको हो। नवनिर्मित पुलले रसुवाको उत्तरगया गाउँपालिका–५ र नुवाकोटको विदुर नगरपालिका–१० लाई पुनः जोडेको छ।
पुल निर्माण सम्पन्न भएपछि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उत्तरगया गाउँपालिकाका प्रमुख माधव अर्याल, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत नेपाली सेनाका प्रतिनिधिको उपस्थितिमा पुल सञ्चालनमा ल्याइएको हो।
लामो समयसम्म यातायात अवरुद्ध हुँदा स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुको आपूर्ति, आवतजावत तथा अत्यावश्यक सेवामा कठिनाइ भएको थियो। नुवाकोट हुँदै काठमाडौंसँगको यातायात सम्पर्क प्रभावित हुँदा बाढीबाट विस्थापित तथा प्रभावित नागरिकको उद्धार र राहत वितरणमा समेत समस्या भएको थियो।
पुल सञ्चालनमा आएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। विशेषगरी चाडपर्व नजिकिँदै गर्दा यातायात सेवा पुनः सुरु भएपछि दैनिक जनजीवन सहज हुने अपेक्षा गरिएको छ।
रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले पुल निर्माणसँगै पुनःस्थापना र दैनिक जीवनयापनमा सहजता आउने बताएका छन्। यातायात अवरुद्ध हुँदा स्थानीयले कहिल्यै नसोचेको संकट भोग्नुपरेको उल्लेख गर्दै उनले पुल सञ्चालनले ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।
बेलिब्रिज सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित क्षेत्रको आवागमन सहज हुनुका साथै स्थानीय आर्थिक गतिविधि र जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस