आइतबार, असोज २५ गते २०८३

रोहितको शतकमा क्यानडामाथि नेपालको जित, २४ रनले पराजित

रोहितको शतकमा क्यानडामाथि नेपालको जित, २४ रनले पराजित

अखबार दैनिक
आइतबार, असोज २५ २०८३
  • रोहितको शतकमा क्यानडामाथि नेपालको जित, २४ रनले पराजित

    काठमाडौं, असोज २५। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले क्यानडामाथि २४ रनको शानदार जित निकालेको छ। कप्तान रोहित पौडेलको शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा नेपालले शृङ्खलाको आफ्नो पहिलो खेलमा जित हात पारेको हो।

    ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटियो।

    नेपालको जितमा कप्तान रोहित पौडेलले शतकीय पारी खेले। उनले १२७ बलमा आठ चौका र एक छक्काको मद्दतमा १०१ रन बनाए। रोहितको शतकले नेपालको इनिङ्सलाई बलियो आधार दिएको थियो।

    त्यस्तै, गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन जोडे। अर्जुन कुमालले २३ रन बनाए। अन्य ब्याटरले ठूलो योगदान दिन नसकेपछि नेपाल ५० ओभरमा सबै विकेट गुमाएर २३५ रनमा सीमित भएको थियो।

    नेपाललाई कम योगफलमा रोक्न क्यानडाका अखिल कुमारले चार विकेट लिए। सुख्जिन्दर सिंहले तीन तथा जहिर शिर्जादले दुई विकेट लिए।

    २३६ रनको लक्ष्य पछ्याएको क्यानडाका आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५ रन जोड्दा अखिल कुमारले अविजित ३० रन बनाए। श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

    नेपालका बलरहरूले महत्त्वपूर्ण समयमा विकेट लिँदै क्यानडालाई लक्ष्यसम्म पुग्न दिएनन्। करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए।

    यस जितसँगै नेपाल लिग–२ को अंकतालिकामा ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा भने ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ।

    यद्यपि, यसअघि नै शीर्ष चारमा पर्ने नेपालको सम्भावना समाप्त भइसकेको अवस्थामा अब टोलीको मुख्य ध्यान एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडीआई स्टाटस) जोगाउनेतर्फ केन्द्रित हुनेछ। त्यसका लागि बाँकी खेलमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ