शुक्रबार, कात्तिक १३ गते २०८३

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

अखबार दैनिक
शुक्रबार, कात्तिक १३ २०८३
  • नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

    जेरुसेलम, १३ कात्तिक  :   इजरायलको केन्द्रीय निर्वाचन समितिले चुनावको अन्तिम परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसकेको जनाएको छ । नेतान्याहु समर्थक समूहले ५३ सिट जितेको छ भने नयाँ नेसेटले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ ।    
        
    द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुको लिकुड पार्टी २७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । गदी आइसेनकोट नेतृत्वको याशरले २१, बी’याचडले १२ र संयुक्त सूचीले ११ सिट जितेका छन् । डेमोक्रेट्स र रामले आठ–आठ तथा अन्य तीन दलले सात–सात सिट प्राप्त गरेका छन् । सास र रिलिजियस जियोनिज्मले छ–छ सिट जितेका छन् । नेतान्याहुविरोधी समूहले ४८ र अरब दलहरूले १९ सिट प्राप्त गरेका छन् । निर्वाचनमा ७७.९ प्रतिशत मतदाताले मतदान गरेका थिए ।    
        
    अन्तिम आधिकारिक  परिणाम नोभेम्बर ४ मा राष्ट्रपति आइज्याक हर्जोगसमक्ष पेस गरिनेछ । उहाँले सरकार गठनको सम्भावना बढी भएको उम्मेदवार छनोट गर्न दलका  प्रतिनिधिसँग परामर्श गर्नुहुनेछ । सरकार गठनमा असफलता भए अर्को नेताले अवसर पाउन सक्नेछ भने निर्धारित समयभित्र प्रक्रिया पूरा नभए पुनः निर्वाचन हुन सक्छ ।    
        
    यसैबीच, नेतान्याहु र अर्थमन्त्री बेजलेल स्मोट्रिचबीच चुनावपछि राजनीतिक सहकार्यबारे छलफल भएको छ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले लिकुडको सफलतालाई ठूलो जीत भन्दै नेतान्याहुलाई बधाई दिनुभएको छ । उहाँले अर्जेन्टिना र इजरायल पश्चिमी मूल्य–मान्यताको रक्षाका लागि रणनीतिक साझेदार रहने बताउनुभएको छ ।    
        
    सरकार गठनका लागि विपक्षी दलहरूबीच पनि समीकरणको खोजी भइरहेको छ । च्यानल १२ न्युजका अनुसार अरब दलहरूको बाह्य समर्थनमा याशर नेता आइसेनकोटको नेतृत्वमा अल्पमतको सरकार बनाउने सम्भावनाप्रति राम पार्टीका नेता मन्सुर अब्बासले शङ्का व्यक्त गर्नुभएको छ । अरबबहुल दललाई समावेश गर्ने विषयमा डेमोक्रेट्सले मात्रै खुलापन देखाएको द टाइम्स अफ इजरायलले जनाएको छ ।    
        
    लिकुडसहितको राष्ट्रिय एकता सरकार बनेमा आइसेनकोट, टुगेदर आन्दोलनका नेता नफ्ताली बेनेट र इजरायल बेटेनुका नेता अभिग्डोर लिबर्मनको सहभागितामा सैद्धान्तिक रूपमा ६६ सिटको समर्थन जुट्न सक्छ । तर नेतान्याहुलाई सत्ताबाट हटाउने विपक्षीको प्रतिबद्धता र उहाँको अति दक्षिणपन्थी तथा अति रूढिवादी सहयोगीहरूमाथिको निर्भरताका कारण यस्तो समीकरण तत्काल सम्भव देखिएको छैन । अल्पमतको सरकार गठनको प्रयासमा भने अरब दलहरूको समर्थन निर्णायक हुन सक्छ ।    
        
    यसैबीच, चुनावमा विदेशी हस्तक्षेप भएको आशङ्काबारे पनि अनुसन्धानको माग गरिएको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष नोम सोलबर्गले अरब क्षेत्रको मतदान प्रभावित पार्ने प्रयास भएको आशङ्काको अनुसन्धान गर्न शिन बेटका प्रमुख डेभिड जिनीलाई अनुरोध गर्नुभएको छ । यद्यपि, निर्वाचन समितिले मतपत्रको विश्वसनीयतामा व्यवस्थित हस्तक्षेप भएको दाबी पुष्टि गर्ने ठोस प्रमाण नभएको जनाएको छ ।(रासस/एएनआई)    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ