१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका ब्याटर इमरान शेखले शानदार अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको विराटनगरका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शेखले ४० बलमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्। उनको इनिङमा ५ चौका र २ छक्का समावेश रहे।
विराटनगरका ओपनर शान जयासूर्या टोलीको स्कोर २ रन हुँदा आउट भएपछि शेख क्रिजमा आएका थिए। सुरुवातमै विकेट गुमाएको विराटनगरको इनिङ सम्हाल्दै उनले अर्का ओपनर लोकेश बमसँग महत्वपूर्ण साझेदारी गरे।
शेख र बमबीच भएको शतकीय साझेदारी यस संस्करणको एनपीएलमा पहिलो शतकीय साझेदारी बनेको छ। दुवै ब्याटरले संयमित र आक्रामक ब्याटिङ गर्दै विराटनगरको इनिङलाई बलियो बनाएका छन्।
एनपीएल इतिहासमा यो १४औँ शतकीय साझेदारी हो। प्रतियोगिताको पहिलो संस्करणमा सात र दोस्रो संस्करणमा ६ पटक शतकीय साझेदारी भएको थियो।
विराटनगरका लागि भने एनपीएल इतिहासमा यो दोस्रो शतकीय साझेदारी हो। यसअघि दोस्रो संस्करणमा लोकेश बम र मार्टिन गप्टिलले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी विराटनगरको अहिलेसम्मकै उच्च साझेदारी हो।
यता, एनपीएल इतिहासकै सर्वाधिक साझेदारीको कीर्तिमान भने पोखरा एभेन्जर्सका आन्द्रे गौस र दिनेश खरेलको नाममा छ। उनीहरूले लुम्बिनीविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।
जनकपुरविरुद्ध इमरान शेख र लोकेश बमको उत्कृष्ट ब्याटिङले विराटनगरलाई बलियो स्थितिमा पुर्याएको छ। यसले खेललाई थप प्रतिस्पर्धात्मक बनाएको छ।

प्रतिक्रिया दिनुहोस