शुक्रबार, कात्तिक २० गते २०८३

पञ्चेबाजा बजाउन सिक्दै लमहीका महिला

पञ्चेबाजा बजाउन सिक्दै लमहीका महिला

अखबार दैनिक
बिहीबार , कात्तिक १९ २०८३
  • पञ्चेबाजा बजाउन सिक्दै लमहीका महिला

    दाङ, १९ कात्तिकः लमहीका महिलाले पञ्चेबाज बजाउने सीप सिक्दै छन् । परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने तथा महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यल त्यहाँका महिलालाई उक्त सीप सिकाउन थालिएको लमही नगरपालिकाले बताएको छ ।    
        
    लमही नगरपालिका–३ का महिलालाई पञ्चेबाजा बजाउने सम्बन्धी पुनर्ताजगी तालिम दिन थालिएको छ । तालिममा पहिलो चरणको अभ्यास पूरा गरिसकेका ‘जखेरा महिला पञ्चेबाजा समूह’ का १६ महिला सहभागी छन् ।     
        
    कात्तिक २१ गतेसम्म सञ्चालन हुने तालिममा पञ्चे बाजाका विभिन्न बाजा बजाउने कला, लय र तालिमसम्बन्धी सीपलाई थप परिष्कृत गरिने आयोजकले जनाएको छ ।    
        
    लमही नगरपालिका–३ का वडाध्यक्ष मनोजकुमार चौधरीले चालु आवमा विनियोजित बजेटबाट बेरोजगार तथा फुर्सदिला गृहिणी महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्न तालिम सञ्चालन गरिएको बताउनुभयो ।    
        
    देउखुरी क्षेत्रमा पञ्चेबाजा बजाउने समूहको सङ्ख्या न्यून छ । विवाह, व्रतबन्ध तथा अन्य शुभकार्यमा पञ्चे बाजाको उच्च माग हुने भएकाले उक्त सीप महिलाका लागि आम्दानीको राम्रो माध्यम बन्नसक्ने भन्दै तालिम दिन सुरु गरिएको चौधरीले बताउनुभयो ।    
        
    विगतमा सञ्चालित सीपमूलक तालिमबाट धेरै महिलाले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्न सफल हुनुभएको उहाँले बताउनुभयो ।    
        
    लमही नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मेनका खड्काले स्थानीय महिलाको बाजा बजाउनेतर्फ उत्साहजनक सहभागिता रहेकाले थप दक्ष बनाउन पुनर्ताजगी तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।    
        
    परम्परागत रूपमा पुरुषले मात्र बजाउँदै आएको पञ्चेबाजामा महिलाको सहभागिताले लैङ्गिक समानता कायम गर्नुका साथै लोप हुने अवस्थामा पुगेको मौलिक संस्कृतिको जगेर्नामा टेवा पुग्ने विश्वास छ ।    
        
    तालिमको प्रशिक्षण गढवा पञ्चेबाजा समूहका रेशमबहादुर शाही र भीमबहादुर थापा क्षेत्रीले गरिरहनुभएको छ ।  रासस  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ