मधु शाही लाङ्टाङ (रसुवा), ९ मङ्सिर: वरिपरि सेताम्मै हिमशृङ्खला । अग्ला चट्टानी पहाड र बीचमा सानो सुन्दर उपत्यका । हिमाली काखमा बसेको ‘लाङ्टाङ भ्याली’ देखेपछि गायिका तारादेवीको गीत गुनगुनाउन मन लाग्छ–
“हिमालको काखमा छ, सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ...”
हिमालको काखमा हुर्किएको ‘लाङ्टाङ भ्याली’ सुन्दर छ । त्यो भन्दा पनि सुन्दर हिउँजस्तै निर्मल र निश्चल मन भएका हिमाली जनजीवन अझै सुन्दर छन् । यहाँका बासिन्दाहरू एकातिर हिउँजस्तै मुस्कान लिएर मुस्कुराइरहेका छन् भने अर्कातिर जीवनका अनेक सङ्घर्षलाई चट्टानजस्तै सहर्ष स्वीकार गर्न सक्षम छन् । लाङ्टाङ भ्यालीकी ५० वर्षीया फुर्पु शेर्पा भन्नुहुन्छ, “हामी हिमालीवासीहरू खुसी हुँदा हिमालझैँ हाँस्छौँ, दु:ख पर्दा चट्टानझैँ जुध्न सक्छौँ । शेर्पालाई खुसी हुन धेरै ठूलो कुरा केही चाहिँदैन ।
हिमाली गाउँ हेर्न आउने पर्यटक देख्दा उहाँलाई खुसी लाग्छ । विशेषगरी आफ्नो छोराछोरीकै उमेरका युवा पर्यटक गाउँ आइपुग्दा उहाँ आफ्नै सन्तानजस्तै ठान्नुहुन्छ । “कहाँसम्म पुग्ने हो ?, आउनु, चिया खाउँ”, भन्दै पर्यटकलाई बोलाउँछिन् । व्यापारका दृष्टिले हेर्दा यो ग्राहक बोलाउने सामान्य शैली हुनसक्छ तर फुर्पुका लागि भने पर्यटकसँगको आत्मीयता र सन्तानको सम्झनासँग जोडिएको भावनात्मक सम्बन्ध पनि हो ।
भूकम्पले परिवारका सदस्य गुमाएपछि एक्लै जीवनको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ उहाँ । चार सन्तानकी आमा उहाँ अहिले एक्लै हुनुहुन्छ । विसं २०७२ को भूकम्पले ठूलो बज्रपात ल्यायो । भूकम्पमा उहाँले जेठो छोरा, छोरी र श्रीमान् गुमाउनुपर्यो । अहिले उहाँका दुई छोरीमध्ये एक छोरी क्यानडामा अध्ययनरत हुनुहन्छ भने अर्की छोरी काठमाडौँमा पढिरहेकी छन् ।
गाउँ आउन आग्रह गर्दा छोरीले ‘हेलिकप्टर पठाइदिनु, हिँडेर त आउँदिन’ भन्ने गरेको उहाँले सुनाउनुभयो । छोरीको यस्तो जवाफ सम्झेर उहाँ एकछिन मुस्कुराउनुहुन्छ । तर, त्यो हाँसोभित्र सन्तानसँगको भेटको प्रतीक्षा र कतै उहाँहरूले आफूलाई बिर्सने हुन् कि भन्ने चिन्ता पनि लुकेको हुन्छ । “जिन्दगी के नै रहेछ र ?”, उहाँ छोटो वाक्यमा आफ्नो जीवनको पीडा पोख्नुहुन्छ ।
लाङ्टाङका ७२ वर्षे तेन्जेन लामा र उहाँकी ७० वर्षीया पत्नी याङ्जेन जाङ्डुम्पाको जीवन पनि देखेजस्तो सजिलो छैन । यहाँ बस्ने प्रत्येक व्यक्तिका आ–आफ्नै कथा छन् । जसमध्ये लामा दम्पतीको कथा रोचक छ । उहाँहरूका एक छोरा र तीन छोरी छन् । दुई छोरी र छोरा बुहारी अमेरिकामा छन् । सन्तान विदेशमा भए पनि उहाँहरूको मन भने आफ्नै गाउँ र हिमालसँग जोडिएको छ ।
लाङ्टाङमा अहिलेसम्म सहज सडक पहुँच छैन । दैनिक उपभोग्य सामग्रीसमेत कठिनाइका साथ ढुवानी गर्नुपर्छ । बजारमा दुई हजार ५०० पर्ने चामल गाउँसम्म ल्याउँदा ढुवानी खर्च जोडिएर पाँच हजारसम्म पर्ने स्थानीय बताउँछन् । खाद्यान्नदेखि निर्माण सामग्रीसम्म महँगो मूल्य तिर्नुपर्ने बाध्यता यहाँका बासिन्दाले भोगिरहेका छन् । त्यसमाथि लाङ्टाङ राष्ट्रिय निकुञ्चभित्र पर्ने भएकाले स्थानीयले विभिन्न शुल्क र नियमको भारसमेत व्यहोर्नुपरेको गुनासो गर्छन् ।
विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार र नेपाली पर्यटकबाट प्रतिव्यक्ति एक सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । पर्यटकबाट शुल्क उठाइए पनि पदमार्ग, फोहर व्यवस्थापन र स्थानीय पूर्वाधार सुधारमा त्यसअनुसार काम नभएको स्थानीयको गुनासो छ । प्रकृतिले मन खोलेर दिएको सौन्दर्यका बीच लाङ्टाङवासीको दैनिकी भने सहज छैन । पर्यटकको आगमनबाट जीविका चलाउने यहाँका बासिन्दा बाटो, स्वास्थ्य सेवा, खाद्यान्न ढुवानी र पर्यटन व्यवस्थापनको अभावसँग जुधिरहेका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने लाङ्टाङ उपत्यका नेपालको लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक हो । सगरमाथा र अन्नपूर्णपछि चर्चामा आउने लाङ्टाङमा हिमाली दृश्य, स्थानीय तामाङ तथा शेर्पा समुदायको संस्कृति र मौलिक जीवनशैली हेर्न बर्सेनि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् तर पर्यटकलाई लोभ्याउने यही गन्तव्यसम्म पुग्ने बाटो र त्यहाँको आधारभूत सेवा भने अझै व्यवस्थित हुनसकेको छैन ।
ठूलो स्याफ्रुस्थित नमस्ते होटलका सञ्चालक कर्मा लामाका अनुसार लाङ्टाङ नाम रहनुका पछाडि स्थानीय जनविश्वासमा आधारित रोचक किंवदन्ती छ । उहाँका अनुसार पहिले तिब्बतबाट एउटा जनावर गोठालोसँगै भागेर आएको थियो । गोठालाले फर्काउन खोज्दा पनि नमानेपछि किलाले बाँधेर राखिएको र पछि किला फुकाएर भागेको उक्त जनावरलाई धेरै दु:ख दिएको भन्दै गोठालाले हतियार प्रहार गरी मारेको स्थानीयको भनाइ छ । त्यसपछि त्यस स्थानको नाम लाङ्टाङ रहन गएको जनविश्वास रहेको उहाँले बताउनुभयो । यस्ता किंवदन्ती र स्थानीय संस्कृति लाङ्टाङको पर्यटकका थप आर्कषण हुन् । यद्यपि प्राकृतिक एवं सांस्कृतिक सम्पदाको प्रचार र संरक्षणसँगै यहाँका बासिन्दाको जीवन सहज बनाउनेतर्फ पर्याप्त ध्यान पुग्न सकेको छैन ।
बिरामी पर्दा हेलिकप्टरको भर
हिमाली जीवनको अर्को ठूलो चुनौती स्वास्थ्य सेवा हो । सामान्य अवस्थामा जसोतसो जीवन चलाए पनि बिरामी पर्दा उपचारका लागि अस्पताल पुग्ने चिन्ताले स्थानीयलाई सताउने गरेको छ । “अरु बेला त जसोतसो चलेको छ, बिरामी पर्दा उपचार नपाइने डरले सताउँछ”, फुर्पु शेर्पा भन्नुहुन्छ, “बिरामी भए हेलिकप्टरबिना अस्पताल पुग्न सकिँदैन । हेलिकप्टरको व्यवस्था गर्न बैंक खातामा तीन लाखदेखि पाँच लाखसम्म जम्मा भएकै हुनुपर्छ ।” आपतकालीन अवस्थामा हेलिकप्टर नै एकमात्र विकल्पजस्तो बन्नु यहाँको स्वास्थ्य सेवाको कमजोर पहुँचको चित्र हो ।
आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो खर्च जुटाउनु झन् कठिन हुन्छ । पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनिएको लाङ्टाङमा स्थानीयले सामान्य स्वास्थ्योपचारका लागि समेत ठूलो आर्थिक जोखिम मोल्नुपर्ने अवस्था छ ।
बाढीपछि घट्यो पर्यटकको चहलपहल
विसं २०७२ को भूकम्पले तहसनहस भएको लाङ्टाङ विस्तारै पुन: उठ्दै थियो । त्यसपछि भोटेकोशी नदीको बाढीले स्याफ्रुबँेसी क्षेत्रमा क्षति पुर्याएपछि पर्यटन गतिविधिमा थप असर परेको स्थानीय व्यवसायी बताउँछन् । ओर्जिनल लामा होटलका सञ्चालक राजु गुरुङका अनुसार बाढीपछि स्याफ्रुबेँसी हुँदै पदयात्रा प्रभावित भएको छ । त्यसको असर लाङ्टाङ आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । “पहिला नेपाली पर्यटनको पनि आकर्षणको केन्द्र थियो । अहिले पर्यटकको सङ्ख्या निकै घटेको छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार बाढीका कारण पुरानो पदमार्ग प्रयोग गर्न कठिन भएपछि पर्यटकले अहिले ठूलो स्याफ्रु हुँदै यात्रा सुरु गर्नुपर्ने अवस्था छ । पदयात्राको मार्ग परिवर्तन हुँदा पर्यटकलाई आवतजावतमा थप कठिनाइ भएको छ । यसले होटल, रेष्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा निर्भर स्थानीयको आम्दानीसमेत प्रभावित बनाएको छ । लाङ्टाङमा होटल व्यवसाय सञ्चालन गर्ने सोनाम शेर्पा न निकुञ्जले वार्षिक रु चार लाख लिने गरेको बताउनुहुन्छ ।
पर्यटन व्यवसायबाट आम्दानी गर्न खोज्ने स्थानीयले महँगो शुल्क तिर्नुपरे पनि पदमार्गको अवस्था र व्यवस्थापनमा सुधार नदेखिएको उहाँको गुनासो छ । त्यस्तै केन्जिङ गुम्बाका २७ वर्षीय पेम्बा तामाङका अनुसार उक्त क्षेत्रमा करिब ३० घर छन् । स्थानीयले आफ्नै प्रयासमा पर्यटकलाई आवश्यक सेवा उपलब्ध गराउँदै आएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका–४ का जनप्रतिनिधि लाक्पा तेन्जिङ तामाङ लाङ्टाङ भ्याली पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि तीनै तहका सरकारले प्राथमिकता दिन नसकेको बताउनुहुन्छ । स्थानीयले भत्किएको पदमार्ग आफ्नै बलबुतामा मर्मत गरेर पर्यटकलाई गाउँसम्म ल्याउने प्रयास गरिरहेको उहाँले सुनाउनुभयो । “निकुञ्जको भालुले हामीलाई खायो भने पाँच लाख क्षतिपूर्तिमा चित्त बुझाउनुपर्छ । यदि हामीले ज्यान जोगाउन प्रतिकार गर्दा भालु मर्यो भने आजीवन कैदी बन्नुपर्छ”, उहाँले भन्नुभयो, “के गर्नु ? हाम्रो मूल्य जनावरको जति पनि छैन ।”
प्रचुर सम्भावना, व्यवस्थापन कमजोर
लाङ्टाङ उपत्यकाको अर्को चुनौती पदमार्गको अवस्था र फोहर व्यवस्थापन हो । यात्राका क्रममा निकुञ्ज क्षेत्र पार गर्दै लाङ्टाङ भ्याली पुग्दासम्म फोहर सङ्कलन गर्ने डस्टबिन देखिँदैनन् । कतिपय स्थानमा ठूला पहिरो खसेका छन् । जोखिमपूर्ण बाटो हुँदै पर्यटकले यात्रा गर्नुपर्ने अवस्था छ । तिहारको समयमा लाङ्टाङ पदयात्रामा पुगेका स्याङजाका प्रविन न्यौपानका अनुसार पर्यटकको आकर्षण गन्तव्य भए पनि यहाँ सुरक्षित र व्यवस्थित पदमार्ग बनाउन खासै ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले भन्न्ुभयो, “यति सुन्दर ठाउँ छ, फोहर व्यवस्थापन र पदमार्ग व्यवस्थित नुहँदा दु:ख लाग्यो ।” नमस्ते होटलका सञ्चालक कर्मा लामा भन्नुहुन्छ, “नेपालीले सफा गर्ने हो भने पदमार्ग फोहर हुँदैन ।”
काठमाडौँबाट करिब छदेखि सात घण्टाको बस यात्रापछि ठूलो स्याफ्रु पुगेर लाङ्टाङ पदयात्रा सुरु गर्न सकिन्छ । क्यान्जिन गुम्बा यस क्षेत्रको प्रमुख आर्कषण हो । त्यहाँबाट करिब चार हजार ९८४ मिटर उचाइमा रहेको ‘त्सेर्को री’ पुगेर वरिपरिका हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । हिमाल, हिमनदी, पहाड र उपत्यकाको प्राकृतिक दृश्यसँगै तामाङ तथा शेर्पा समुदायको संस्कृति, परम्परा र जीवनशैलीले लाङ्टाङलाई विशिष्ट पर्यटकीय गन्तव्य बनाएको छ । स्थानीय संस्कृति बुझ्न, हिमाली जनजीवन अनुभव गर्न र पदयात्रामा रमाउन चाहने पर्यटकका लागि यो क्षेत्र विशेष आकर्षणको केन्द्र हो ।
नेपाल पर्यटन बोर्डको पदयात्रा गन्तव्यसम्बन्धी वर्गीकरणमा लाङ्टाङलाई सगरमाथा र अन्नपूर्णपछि चर्चित पदयात्रा क्षेत्रका रूपमा लिने गरिन्छ । यसको वास्तविक सम्भावना उपयोग गर्न पदमार्गको स्तरोन्नति, सुरक्षित आवागमन, स्वास्थ्य सेवाको पहुँच, खाद्यान्न ढुवानीको सहजता र फोहर व्यवस्थापनमा लगानी आवश्यक देखिन्छ ।रासस

प्रतिक्रिया दिनुहोस