आइतबार, भदौ १४ गते २०८३

एकै परिवारका तीन खेलाडीलाई स्वर्ण, इन्द्रले १६ सेकेन्डमै जिते स्वर्ण

एकै परिवारका तीन खेलाडीलाई स्वर्ण, इन्द्रले १६ सेकेन्डमै जिते स्वर्ण

नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई फाइनलमा पराजित गरे ।

अखबार दैनिक
बिहीबार , वैशाख ७ २०८०
  • एकै परिवारका तीन खेलाडीलाई स्वर्ण, इन्द्रले १६ सेकेन्डमै जिते स्वर्ण

    काठमाडौं । १८औं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडी स्वर्ण जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन् ।

    नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई फाइनलमा पराजित गरे ।

    फाइनल जित्न इन्द्रलाई मात्र १६ सेकेन्ड समय लाग्यो । ४ मिनेटको पूरा खेलमा इन्द्रले इप्पोनका आधारमा प्रतिद्वन्द्वी मनीषलाई १६ सेकेन्डमै हराएका थिए । नेपाल आर्मीका किरण भट्टराई तथा बागमती प्रदेशका प्रवीण पाण्डे तेश्रो भए ।

    नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा भएको महिला ४८ केजीमुनि फाइनलमा बागमतीकी निशाले एपीएफ क्लबकी रत्ना तामाङलाई हराइन् । लुम्बिनीकी प्रतीक्षा केसी तथा कर्णाली प्रदेशकी सकुन सुनुवार तेश्रो बने ।

    ५२ केजीमुनिको स्वर्ण भिडन्तमा बागमतीकी देवकीले आर्मीकी रोशना डंगाललाई पाखा लगाइन् । कर्णालीकी अनिता बुढा तथा प्रहरीकी प्रतिभा पुलामी मगर तेश्रो स्थानमा रहे । इन्द्र, निशा र देवकी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् ।

    महिला ५७ केजीमुनि आर्मीकी सिमाकुमारी चिडीले फाइनलमा एपीएफकी सुनीता थिङलाई पन्छ्याउँदै स्वर्ण चुमिन् । बागमतीकी अञ्जु पाण्डे तथा कर्णालीकी पेमा याङ्गी शेर्पाले कांस्य हात पारे ।

    ६३ केजीमुनि प्रहरीकी दिलकुमारी छन्त्यालले बाजी मारिन् । दिलकुमारीले फाइनलमा आर्मीकी लीला अधिकारीको चुनौती पन्छाइन् । कर्णालीकी बन्दना कुलुङ तथा लुम्बिनीकी निर्मल कुँवर तेश्रो भए ।

    पुरुष ६० केजीमुनि कर्णालीका प्रवीणकुमार दियालीले शीर्ष स्थान कब्जा गरे । उनले फाइनलमा लुम्बिनीका विकास विकलाई पाखा लगाए । लुम्बिनीकै काशिराम महत तथा आर्मीका दीपक रास्कोटीले तेश्रो स्थानमा चित्त बुझाए ।

    ७३ केजीमुनि एपीएफका प्रमोद मण्डलले फाइनलमा बागमतीका सुनील नगरकोटीमाथि जित रचे । लुम्बिनीका आयुश साहवत तथा बागमतीका राजु शर्मा भदाइ तेश्रो भए ।

    प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुष-महिलामा समान ७–७ गरी १४ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ७ स्वर्णको छिनोफानो भएको छ । विजेतालाई सदस्य–सचिव घिसिङ, राखेपका सदस्य अञ्जन धमलालगायतले पुरस्कृत गरे । प्रतियोगिताको अन्तिम दिन बिहीबार बाँकी ७ स्पर्धाको फाइनल हुनेछ ।

    यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् ।

    उनका अनुसार प्रत्येक तौलसमूहबाट ४ खेलाडी प्रारम्भिक चरणमा छनोट हुने छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी १ सय १६ खेलाडी सहभागी छन् ।


    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ