बिहीबार , साउन २१ गते २०८३

दोधारा चाँदनीमा २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा

दोधारा चाँदनीमा २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा

सोमबार, असार २४ २०८१
  • दोधारा चाँदनीमा २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा

    कैलाली ।  जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले कञ्चनपुरको दोधारा चाँदनीमा यसवर्ष सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ । महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ । 

    कार्यालयका प्रमुख सञ्जय साहले भने, “दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौँडामा पाँचसय १६ मिलिमिटर वर्षा मापन गरिएको थियो ।” अति भारी वर्षापछि दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ ।  

    धनगढीमा गएको १२ घण्टामा एकसय ८४ दशमलव सात मिलिमिटर वर्षा मापन भएको छ । अझै पनि भारी वर्षा हुने पूर्वानुमान गरिएकाले उच्च सतर्कता अपनाउन साहले आग्रह गरे। दुई सय मिमिभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।

    अविरल वर्षासँगै महाकाली, कर्णाली, ठूलीगाड, मोहना, खुटिया, कान्द्रा, घुरुवा, कटैनी, स्याली, दोदा, चौदरलगायतका नदी र खोलामा जलसतह बढेको छ । वर्षासँगै कैलाली र कञ्चनपुरका होचो भूभागमा रहेका बस्ती डुवानमा परेपछि धेरै परिवार विस्थापित भएका छन् । 

    डुबानमा परेको कैलालीको भजनी, जानकीनगर क्षेत्रका बासिन्दा अग्लो स्थानमा रहेको हुलाकी राजमार्ग खण्डमा बसेका छन् । कैलालीको कटैनी नदीमा जडान भएको पूर्व सूचना दिने यन्त्र गए रातिको बाढीले बगाएको छ ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार