बिहीबार , साउन २१ गते २०८३

नहर भत्किँदा धानखेतीमा क्षति

नहर भत्किँदा धानखेतीमा क्षति

सोमबार, साउन २८ २०८१
  • नहर भत्किँदा धानखेतीमा क्षति

    कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटेनामा धानखेतीमा नोक्सानी पुगेको छ । गत असार अन्तिम साता आएको बाढीले महाकाली सिँचाइ तेस्रो चरणको नहर भत्किँदा मटेनाका स्थानीयका धानखेती र घर जोखिममा परेका छन् । असारपछिको वर्षाले स्थानीयको धानखेती कटान हुन थालेको छभने चार घर जोखिममा परेका छन् । नहर नजिकै रहेको एक परिवार विस्थापित बनेको छ । धानखेती गरेको जग्गा कटान हुन थालेपछि स्थानीयले प्लास्टिकले छोपेर नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

    “असार अन्तिम साता आएको बाढीले नहर भत्काएपछि हाम्रो धानखेती कटान हुन थालेको छ”, भीमदत्त–९ का स्थानीय अर्जुन नाथले भन्नुभयो, “हामीले कटान रोक्नका लागि अस्थायी तटबन्धको माग गरे पनि कतैबाट सुनुवाइ भएन ।” उहाँले महिना दिन पुग्न लाग्दासमेत कुनै निकायबाट सहयोग नभएको गुनासो गर्नुभयो ।

    “अहिले प्लाष्टिकले छोपेर खेत बचाउने प्रयास गरिरहेका छौँ”, नाथले भन्नुभयो, “महाकाली सिँचाइ र नगरपालिकामा धाउँदा पनि कतैबाट सहयोग प्राप्त भएन ।” उक्त क्षेत्रमा पालिका प्रमुख तथा उपप्रमुख र यहाँका प्रदेशसभा सदस्यहरुले स्थलगत अवलोकन गरे पनि जमिनको कटान रोक्न कुनै प्रयास नगरेको स्थानीयको गुनासो छ । “हेर्नलाई मन्त्री सांसद सबै आउनुभयो, हामीलाई आश्वासन मात्रै दिएर जानुभयो”, स्थानीय किरण नाथले भन्नुभयो, “हाम्रो करिब दुई कट्ठा धानखेती कटान भइसक्यो ।” स्थानीयका अनुसार सामान्य वर्षामा समेत जमिन कटान हुन थालेको छ । तीन परिवारको पाँच कट्ठा बढी धानखेती कटान भएको छ । “खेत कटान भएर हाम्रो घरसम्म पुग्न २० मिटर मात्रै बाँकी छ”, उहाँले भन्नुभयो, “राति वर्षा भयो भने डरले घरमा सुत्दैनौँ ।”

    भीमदत्त–९ का वडा सदस्य पशुपति सार्कीले नहर भत्किएपछि स्थानीयको घरखेत जोखिममा परेको बताउनुभयो । “सुरुआतमा नहर भत्कियो, त्यसपछि स्थानीयको धानखेती कटान हुन थालेको छ”, वडा सदस्य सार्कीले भन्नुभयो, “कटानले गर्दा ब्रह्मदेव सडकसमेत जोखिममा परेको छ ।” उहाँका अनुसार मटेनामा कटान हुँदा ठूलो क्षति गरेको छ । स्थानीयको खेतसँगै सडक भत्किएर आवतजाव बन्द भएको छ ।  रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार