बिहीबार , साउन २१ गते २०८३

कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

बिहीबार , साउन ३१ २०८१
  • कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

    नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् । अहिले विश्व जलवायु परिवर्तनका कारण अनेक समस्याहरूसँग जुधिरहेको बेला कालो सैनिक झिँगालाई वातावरणको हिसाबले २५ देखि ४० डिग्री सेल्सियससम्ममा उत्पादन गर्न सकिने हुँदा यसबाट व्यावसायिक रुपमा मल उत्पादन गर्न सकिने ती विद्यार्थीहरुको भनाइ छ ।

    कुहिएको हरियो तरकारी, फलफूल, अन्न, हार्ड नभएको मासु, सागपातलाई झिँगाको लार्भा र प्यूपालाई खुवाएर सस्तोमा प्रोटिनयुक्त मल तथा दाना उत्पादन गर्न सकिन्छ र यसले गर्दा वातावरण पनि स्वच्छ रहने अनुसन्धानबाट पुष्टि भएको छ । ललितपुर गोदावरी नगरपालिका–१ मा जस्ता पाताको घर बनाइ विश्वविद्यालयका पाँचजना विद्यार्थीहरू यतिबेला कालो सैनिक झिँगाको अनुसन्धानमा व्यस्त छन् । काठमाडौँ फरेस्ट्री कलेजका स्नातक तहमा अध्ययनरत छात्रछात्रा क्रमशः आर्शिवादराज झा र कोहिनुर श्रेष्ठ हुनुहुन्छ भने कृषि विज्ञान क्याम्पस स्नातक तहका छात्र अभिनव थापा तथा काठमाडौँ विश्वविद्यालय स्नातक तहका छात्र दिनेश प्रजापति र सन्दिप शाक्यमा संलग्न हुनुहुन्छ ।

    उहाँहरुले परियोजनाको नाम ‘इको ग्रव समूह’ राख्नु भएको छ । नेदरल्यान्डको वाइनिगन विश्वविद्यालयबाट ‘फुड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ गर्नका लागि विश्वका नौ देशबाट १८ समूहले सहभागिता गरेको थियो । त्यसमध्ये एशियाबाट नेपाल मात्र ‘इको ग्रव समूह’ ले जितेको थियो । यसका लागि फुड सिस्टम इनोभेसन च्यालेन्ज २०२४ को संयोजक नेपालबाट उमाशङ्कर पाँडे रहेका छन् । उहाँ काठमाडौँ विश्वविद्यालयमा सहायक प्रधानाध्यापक हुनुहुन्छ ।

    उहाँका अनुसार, नेदरल्यान्डका वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा ‘इको ग्रव समूह’का पाँच विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धान गर्दैछन् । यस अनुसन्धानमा राम्रो गर्ने विद्यार्थीमध्ये काठमाडौँ फरेस्ट्री कलेजका आर्शिवादराज झालाई केही दिनका लागि नेदरल्यान्डका वाइनिगन विश्वविद्यालयमा थप अध्ययन गर्नका लागि पठाइनेछ ।

    विद्यार्थी झाका अनुसार यस झिँगाबाट लार्भा उत्पादन गरी मल र दाना बनाइन्छन् । यो आर्गनिक दाना र मल घरपालुवा पशुपक्षी कुखुरा, बङ्गुर, माछा, भैँसी, बाख्रा, आदिका लागि उच्च प्रोटिनयुक्त आहारा बन्नेछ भने खेत र करेसाबारीमा मलिलो माटो बनाउन सकिन्छ । कुहिएको हरियो सागसब्जी, फलफूल, अन्न, मासु वा कुहिने फोहर व्यवस्थापनका लागि तिनै तहका सरकारले झिँगाको खेती गर्न र गराउनमा ध्यान दिएमा किसान प्रत्यक्ष राहात मिल्ने तथा देशमै मल तथा दाना उत्पादन गरी आम्दानीको स्रोत र रोजगारको अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ छ ।

    यस झिँगालाई अङ्ग्रेजीमा ब्ल्याक सोल्जर फ्लाई ९बिएसएफ० भनिन्छ । यसको वैज्ञानिक नाम “हेर्मेटिया इल्युसेन्स’ हो । यसमा प्रोटिन, अमिनो एसिडले भरपूर फाइबर भिटामिन पाइन्छ । झिँगाको खेती नेपालमा एकदम कम गरिएको पाइन्छ । यो आर्गनिक मल तथा दाना व्यवसाय गर्नका लागि २०औँ शताब्दीदेखि विश्वमा यसको खेती सुरु भएको बताइएको छ । झाका अनुसार बीएसएफ’ को जीवनचक्र ४५ देखि ७० दिनसम्मको हुन्छ । यसबाट उत्सर्जित दिसाबाट राम्रो प्राङ्गारिक दाना तथा मल उत्पादन हुन्छ । यो खानाले पशुपक्षीहरूलाई वृद्धि तथा बढ्नमा छिटो सहयोग गर्छ । यस दानामा कुनै रासायनिक पदार्थहरू मिसाएको नहुने भएकाले मानिसहरुले खाँदा पनि स्वस्थ्यकर हुन्छ ।

    कालो सैनिक झिँगा राख्नका लागि सानो घर बनाएर खेती गर्न सकिन्छ भने कुनै डिब्बा, काठको ट्रे, प्लास्टिकको ट्रे आदिमा राखेर पनि उत्पादन गर्न सकिन्छ । घाम लाग्ने ठाउँ नभएमा बत्तीको व्यवस्था गर्नुपर्छ । २५ देखि ४० डिग्री सेल्सियस तापक्रममा कालो सैनिक झिँगाको खेती गर्नको लागि उपयुक्त मानिन्छ । त्यस्तो नभएमा हिटरको व्यवस्था गरी ताप दिनुुपर्छ । आफूलाई झिँगा तथा लार्भा कति चाहिन्छ ठाउँ अनुसारको सामग्री तयार गर्नुपर्छ । झिँगा उड्ने भएकाले यसलाई झुल अर्थात जालीभित्र राख्नुपर्छ । झुलभित्र नै अण्डा पार्नका लागि राख्नुपर्छ । बाँस वा काठ १० देखि २० इन्चको लम्बाइ, मोटाइ दुई देखि तीन इन्च र चौडाइ तीनदेखि पाँच इन्चको हुनुपर्छ । त्यस टुक्रालाई दुई दुईवटा खप्टाएर ट्रेरेमाथि झुलभित्र नै राख्नुपर्छ । झुलभित्र भएमा झिँगालाई काठभित्र अण्डा पार्न सजिलो हुन्छ ।

    झिँगालाई खानाको आवश्यकता पर्दैन थोरै मात्रामा पानी भएहुन्छ । झुलकोमाथि भागमा पानीको स्प्रे गर्नुपर्छ वा झिँगालाई पानी खानको लागि फोम भिजाएर एक छेउमा राखिदिन सकिन्छ । काठको कप्टेरोको मसिनो भागमा गएर अण्डा पारेकालाई एक वा दुई दिनमा पिन र सिन्काको सहायताले अण्डा निकाल्नुपर्छ । झिँगाको आयु जम्मा सात दिनको हुन्छ ।

    झिँगाबाट मल तथा दाना उत्पादन गर्नका लागि पाँच प्रकारको चरण अण्डा, लार्भा, पूर्वप्युपा, प्युपा हुन्छन् । अण्डालाई एउटा पारदर्शी प्लास्टिकको ट्रे, काठबाट बनाएको ट्रे वा हावा छिर्ने डिब्बामा राख्नुपर्छ । मुखमा जाली वा झुलले बाँधेर जालीमाथि यी अण्डा राख्नुपर्छ र फेरि अर्को जालीले छोप्नुपर्छ । यस्तो अवस्थामा पानी र खाना केही दिनुहुँदैन । अण्डा फुट्ने डर हुन्छ । धेरैजसो अण्डा चारदेखि पाँच दिनमै अण्डाबाट लार्भा निस्किन् थाल्छ । यसको लम्बाई १।० मिलिमिटरदेखि ०।०४ इन्चको हुन्छ भने तौल ०।२२ ग्रामदेखि ३।४ ग्रामको हुन्छ ।

    अण्डालाई लार्भा अवस्थामा आउन एक हप्ता लाग्छ भने लर्भाको चरण औसत १४ देखि १७ दिनसम्मको हुन्छ । अण्डाबाट लार्भा अवस्थामा आउने वित्तिकै यसलाई अर्को ट्रेमा राख्नुपर्छ । यसलाई पनि २५ देखि ४० डिग्रीको बीचको तापक्रममा राख्नुपर्छ ।

    गिलो वा धेरै पानी भएको खाना खान दिनुहुँदैन। यसको खाना कुहिएको हरियो तरकारी फलफुल हड्डी नभएको मासु र अन्नहरू दिनुपर्छ । यसलाई धेरै सुक्खामा पनि राख्नु हुँदैन । कम्तीमा ६० देखि ९० प्रतिशतको बीचमा चिसोपन अर्थात् गिलो खान दिनुपर्छ । त्यहीँ अनुसारको बासस्थान पनि बनाउनुपर्छ । यसलाई दिनको दुई वा तीनपटक खाना लार्भा कति छ त्यस अनुसारले दिनुपर्छ ।

    लार्भा १५ दिनको भएपछि उसको मुखको आकारको भाग चुच्चो हुन थाल्छ । सेतो रङको लार्वाको रङ विस्तारै परिणत हुन्छ । यसलाई लार्भाभन्दा अलि सुखा बनाएर राख्नुपर्छ । लार्भाको ट्रेबाट अर्को ट्रेमा सार्नुपर्छ । यसलाई धेरै उज्यालोको आवश्यकता पर्दैन । यस चरणमा धेरै चिसो र धेरै तातो भएमा पूर्व प्यूपा मर्छन् । उपयुक्त वातावरणमा आइसकेपछि पूर्वप्युपापमा परिणत हुन जान्छ । अब यो हिँडडुुल गर्न छोड्छ । कालो र सेतो धर्का भएको रङ्मा बदलिन थाल्छ । झिँगा उड्ने प्रक्रियामा आउन दुईदेखि तीन हप्ताको समय लाग्छ ।

    प्यूपा झिँगामा परिणत हुने अवस्थामा अर्को जाली भएको ठाउँमा ट्रेमा राख्नुपर्छ । झिँगा उड्ने बेलादेखि एक हप्ता मात्र बाँच्छन् । यस अवस्थामा उनीहरू आफ्नो साथी खोज्न थाल्छन् । पोथी झिँगाले फेरि पहिलो चरणको कुरा दोहो¥याउँछ त्यहाँ काठबाट बनाएको ठाउँमा अण्डा दिन सुरु गर्छ । यस्तो बेलामा सूर्यको प्रकाश र तातोपन भएमा झिँगा छिटो जीवनचक्रमा अग्रसर हुन थाल्छन् । झिँगाको लम्बाइ दुईदेखि पाँच सेन्टिमिटरको हुन्छ । यसरी ४५ देखि ७० दिनसम्मको झिँगाको जीवन चक्र हुन्छ । एउटा झिँगाले आफ्नो जीवनकालमा ३०० देखि ५०० सयसम्म अण्डा दिन्छन् । कालो सैनिक झिँगाको खेती गर्दा बस्तीभन्दा बाहिर खुल्ला ठाउँमा गर्नुपर्दछ ।

    गोदावरी नगरपालिकाका रामु महर्जन झिँगाको खेती गर्न धेरै खर्च नलाग्ने र राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ । कुखुरा व्यवसाय गर्दै आउनु भएका उहाँ ‘इको ग्रव समूह’बाट तालिम लिएर कालो सैनिक झिँगाको उत्पादनमा लाग्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘‘दुई महिनामै मल तथा दानाबाट राम्रो आम्दानी गर्न सक्छौँ । यसमा पटक–पटक लगानी गर्नुपर्दैन यसको अण्डाबाट व्यवसाय बढाउन सकिन्छ । लार्भालाई भुटेर वा काँचो नै कुखुरा, माछा, खसी, बङ्गुर अर्थात् कुनै पनि पशुपक्षीलाई दिँदा लाभदायक हुन्छ ।’’

    लार्भा र प्यूपाले आफ्नो चक्र पूरा गर्ने बेलामा निस्केको काइटिनलाई खेत वा गमलामा राख्दा निकै उपयोगी हुन्छ । विदेशमा काइटिन र लार्भाबाट बनाएका बिस्कुटहरू पशुपक्षीहरूका खानको लागि बनाएका हुन्छन् । दाना र मलबाट वातावरणलाई स्वच्छ राख्न सहयोग पुग्ने विज्ञहरुको भनाइ छ । यसलाई व्यावसायिक रुपमा उत्पादन गर्न सकिए बजारमा पाउने कुखुराको दानाभन्दा सस्तोमा पाउन सकिन्छ । छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार