बिहीबार , साउन २१ गते २०८३

गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

आइतबार, भदौ २ २०८१
  • गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

    पवित्र धार्मिकस्थल रसुवाको गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । यसबाट गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीलाई सहज हुने भएको छ । ग्रामीण र दुर्गम क्षेत्रमा लगातार विद्युत् सेवा उपलब्ध गराउँदै आएको नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक गोसाइँकुण्डमा बिजुली पुर्‍याएपछि स्थानीयका अलावा तीर्थयात्रीलाई राहत पुगेको हो ।

    प्राधिकरणले समुद्र सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा शुक्रबार साँझदेखि ग्रिडको विद्युत् पुर्‍याइएको जनाएको छ । बिजुली बत्ती पुगेसँगै गोसाइँकुण्ड क्षेत्र झिलिमिली भएको छ ।

    धार्मिक एवं पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पु¥याइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । अहिलेसम्म गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको जानकारी दिनुभयो । “प्राधिकरणमा जागिर सुरु गर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवं पर्यटकीयस्थल स्वर्गद्वारीमा विद्युत् पु¥याएको थिएँ”, उहाँले भन्नुभयो, “अहिले देशलाई पूर्ण रुपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाइँकुण्ड, अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिरजस्ता धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याइरहेका छौँ ।”

    रसुवाको सदरमुकामबाट गोसाइँकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाइँकुण्डमा पुर्‍याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा दुई सय खम्बा राखिएका छन् । खम्बा ट्रान्सफर्मरलगायतका उपकरण मानिस र खच्चडले ढुवानी गरिएको थियो ।

    गोसाइँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने प्राधिकरणले जनाएको छ । बर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गोसाइँकुण्डमा १५/१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले जानकारी दिनुभयो । उहाँले गोसाइँकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिनायक र बुद्धमन्दिरमा ५०/५० केभीएको वितरण ट्रान्सफर्मर राखिने बताउनुभयो ।

    जोलाङपाटी र लौरीबिनामा केही होटल सञ्चालनमा छन् । मेलाका यात्रुहरुलाई लक्षितगरी त्यस क्षेत्रमा छाप्राहरु बनाइएका छन् । गोसाइँकुण्डमा विद्युत् पुर्‍याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब रु तीन करोड रहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार