बिहीबार , साउन २१ गते २०८३

कान्तिताल सिमसारमा मोटरबोट, दुर्लभ चराको बासस्थान संकटमा पर्ने जोखिम

कान्तिताल सिमसारमा मोटरबोट, दुर्लभ चराको बासस्थान संकटमा पर्ने जोखिम

शुक्रबार, भदौ ७ २०८१
  • कान्तिताल सिमसारमा मोटरबोट, दुर्लभ चराको बासस्थान संकटमा पर्ने जोखिम

    बाँके । नेपालगञ्जको कान्तिताल सिमसार क्षेत्रमा तालको स्वरुप फेरेर मोटरबोट चलाउँदा दुर्लभ सारसलगायत चराको बासस्थान संकटमा पर्ने जोखिम बढेको छ । तालमा साइबेरिया, थाइल्याण्ड र मलेसियाबाट आगन्तुक चरा आउने गर्छन् ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रूपमा रहेको दुर्लभ सारसलगायत परम्परागत र आगन्तुक चराको बासस्थान संकटमा परेको ‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरीले बताए ।

    पक्षी संरक्षण समाज र नेपाल चराविज्ञ एशोसिएसनको विज्ञ टोलीले डेढ घण्टासम्म सर्भे गर्दा ३२ प्रकारका परम्परागत र आगन्तुक चराको बासस्थान रहेको तालमा तीन प्रजातिका कमलका फूल फेला परेको उल्लेख गरेको छ । ‘यसलाई जैविक विविधता र बर्ड पार्कका रूपमा विकास गर्नुपर्छ’, संरक्षणकर्मी चौधरीले भने ।

    मोटरबोट चल्दा त्यसले पर्यावरणमा नोक्सानी हुने औँल्याउँदै उहाँले कान्तिताल चराको आहाराको स्रोत भएको बताए । ‘तालमा चराको प्राकृतिक आवास भएकाले त्यहाँ धेरै चरा रमाउँछन्’, उनले भने।  अध्यक्ष चौधरीले इन्धनबाट चल्ने मोटरबोटले चराको प्राकृतिक बासस्थान नष्ट हुने उल्लेख गर्दै ‘प्राकृतिक सिमसारका रूपमा रहेको तालमा मोटरबोट चलाउन लागेको कुराले आफूलाई चिन्तित बनाएको सुनाए ।

    मोटरबोट चलाउन अनुमति दिने नेपालगञ्ज उपमहानगरपालिका र चलाउन खोज्ने ठेकेदारको कदमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको संरक्षणकर्मी चौधरीले बताए । उक्त तालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ ।

    दुई वर्षअघि गरिएको गणनाअनुसार पहिलो वर्ष यहाँ २५ प्रजातिका चरा फेला परेका थिए । दोस्रो वर्ष घटेर २२ प्रजातिका चरा फेला परेका छन् । आगामी हिउँद सिजनमा पनि चरा गणना गर्ने संरक्षणकर्मीको योजना छ । तालमा दुर्लभ पक्षी सारस, अन्य परम्परागत चरा, विभिन्न प्रजातिका सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट)लगायतको बासस्थान छ ।

    यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया, इण्डोनेसियाबाट आएका चराले बासस्थान बनाउँछन् भने जाडोयाममा साइबेरिया, उत्तरी चीनलगायत देशबाट चरा आउँछन् । बसाइँ सरेर आउने आगन्तुक चराले पनि तालमै बच्चा उत्पादन गर्ने गर्छन् । सारसले पनि कान्तिताललाई प्रजनन्‌स्थल बनाउँदै आएको छ ।

    चौधरीका अनुसार सारसको बासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्तिताल र मानखोला रहेको छ । तर यीमध्ये सबैभन्दा राम्रो बासस्थान सो ताल रहेको बताइएको छ । यस स्थानमा विभिन्न जलचर र वनस्पति छन् । दुर्लभ सारस पाइने जिल्ला रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली हो ।

    यसअघि गणना गर्दा बाँकेमा ३३ वटा सारस फेला परेका थिए । पक्षीविद् रामबहादुर शाहीले प्राकृतिक सिमसारमध्ये कान्तिताल सबैभन्दा राम्रो सिमसार क्षेत्र भएको उल्लेख गर्दै सरकारले संरक्षित सूचीमा राखेको चरा सारस प्रत्यक्ष देखिएको बताए । शाहीले अफ्रिकाबाट आएको जुरे कोइली पनि सो तालमा रहेको जानकारी दिँदै अन्य सयौँ स्थानका स्थानीय प्रजातिका चराको पनि बासस्थान उक्त ताल भएको बताए ।

    नेपालगञ्जका अभियन्ता डा विनोद कर्णले तालमा मोटरबोट चलाउने प्रयास घातक हुने उल्लेख गर्दै भने, ‘अनुरोध गर्दागर्दै पनि मोटर बोट चलाउन खोजियो भने त्यो राम्रो हुँदैन ।’ नेपालगञ्ज उपमहानगरपालिकाले २०७८ सालमा १० वर्षका लागि स्थानीय ठेकेदारलाई मोटरबोट चलाउन ठेक्का दिएको थियो ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार