बिहीबार , साउन २१ गते २०८३

संस्कृतिको संरक्षणमा जुट्दै चितवनका गुरुङ समुदाय

संस्कृतिको संरक्षणमा जुट्दै चितवनका गुरुङ समुदाय

बिहीबार , भदौ १३ २०८१
  • संस्कृतिको संरक्षणमा जुट्दै चितवनका गुरुङ समुदाय

    यहाँका गुरुङ समुदाय संस्कार संस्कृतिको संरक्षण तथा एकरुपताका लागि जुटेका छन् । जिल्लास्थित गुरुङ समुदायको धार्मिक संस्था तमू प्ये ल्हु सङ्घले संस्कृतिको संरक्षणका र एकरुपताका लागि समुदायमा प्रचलित मौलिक सांस्कृतिक नृत्य ‘सेर्गा नाच’को तालिम सञ्चालन गर्ने भएको हो ।

    बसाइँसराइसँगै मौलिक सांस्कृतिक तथा सामूहिक नृत्य हराउन थालेपछि संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ समूह निर्माण गरेर तालिममार्फत सिकाउने तयारी गरिएको सङ्घका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । यसअघि पनि संस्कृतिबारे विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको भन्दै गुरुङ समुदायको मृत्यु संस्कारमा पनि यो नृत्य देखाइन्ने भएको तालिम सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    परापूर्वकालदेखि चलिआएको संस्कृति भए पनि नयाँ पुस्ताले यसप्रति चासो नदेखाउँदा सेर्गा हराउने अवस्थामा आइपुगेको अध्यक्ष गुरुङले बताउनुभयो । “चितवनमा अधिकांश गुरुङ बाहिरी जिल्लाबाट बसाइँ सरी आएपछि नयाँ ठाउँमा संस्कृति संरक्षण तथा एकरुपता कायम चुनौती भएको छ, त्यसमाथि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा संस्कृति पनि लोप हुने अवस्थामा आइपुगेको छ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष गुरुङका अनुसार यो नाच गुरुङ जातिमा मृत्युपछि गरिने संस्कार अर्घौमा नचाइन्छ । समूहमा गाउने, बजाउने र नाच्ने हुँदा सेर्गाको लागि ठूलो समूह आवश्यक पर्ने उहाँको भनाइ छ । संस्कृति संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले संस्थागतरूपमा तमू प्ये ल्हु सङ्घमार्फत तालिम दिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

    सेर्गामात्र नभइ गुरुङ जातिको धर्मगुरूलाई भेला गराई संस्कारलाई एकरुपता दिन थप परिस्कृत गर्दै लैजाने योजना रहेको अध्यक्ष गुरूङले बताउनुभयो । सेर्गा नाँचको तालिमको तयारी लागि गत सोमबार वृहत् दोस्रो खेगी ९धर्मगुरू० को भेला गरिएको थियो ।

    धर्म संस्कारको संरक्षण र प्रवर्द्धनलाई अझ दिगो बनाउने र युवा पुस्ता माझ पु¥याउने उद्देश्य रहेको अध्यक्ष गुरुङले बताउनुभयो । “खेगी गुरूहरूको भेलामार्फत धर्म संस्कार संरक्षणलाई अझ दिगो बनाउने प्रयास गरेका हौँ”, उहाँले भन्नुभयो, “यसको मुख्य उद्देश्य आफ्नो जातिको संस्कारलाई भावी पुस्तासम्म पु¥याउनु हो ।” तालिम यथाशीघ्र सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

    धर्मगुरूको भेलामार्फत जिल्लाभर बस्ने खेगीहरुसँग समग्र तमू जातिबीच सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेल्ने सङ्घका जिल्ला अध्यक्ष विक्रम च्हम्रु तमूले बताउनुभयो ।

    सङ्घका पूर्वअध्यक्ष भीमबहादुर गुरुङले प्ये छ्याबारे समग्र तमू जातिलाई बुझाउन खेगी भेला फलदायी भएको बताउनुभयो । नयाँ पुस्तामाझ पुरानो मौलिक संस्कृतिलाई पुस्तान्तरण गराउन यस्ता गतिविधि आवश्यकपर्नेमा उहाँले जोड दिनुभयो ।

    प्ये (वेद)मा एकरुपता आवश्यक
    खेगी गुरुहरूले तमू जातिको संस्कार, संस्कृतिसम्बन्धी प्ये (वेद)मा एकरुपता ल्याउन आवश्यक रहेको बताउनुभयो । ठाउँ र भेगअनुसार तमू भाषामा देखिएको विविधताले खेगीको प्येमा पनि विविधता देखिँदा सबैको बुझाइ एकनासको हुन नसकेको खेगी (घ्याप्री गुरू) चित्रबहादुर गुरुङले उल्लेख गर्नुभयो । सबै खेगीको बुझाउने शैलीमा एकरुपता नहुँदा अन्य संस्कारले पनि प्रवेश पाएको उहाँको भनाइ छ ।

    “हाम्रो संस्कार र संस्कृतिको महत्व कमजोर हुँदै जानुमा हामी दोषी छौँ । हामीले पुस्तान्तरण गर्न नसक्दा अरु संस्कार र संस्कृतिले प्रवेश गर्दै गएका छन्”, खेगी गुरुङले भन्नुभयो, “सबै गुरुङलाई बुझाउने ठाउँमा हामी रहेकाले अब पुस्तान्तरणसँगै संस्कार संरक्षण र प्रवर्द्धनमा जुटेका हौँ ।” खेगीबाट फरक शैलीमा सांस्कृतिक कुरा बाहिर आउँदा नयाँ पुस्ता अलमलमा परेकाले एकरुपता आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

    घ्याप्री गुरू नवराज गुरुङले जिल्ला र ठाउँअनुसार भाषा फरक भए पनि आफूले गर्दै आएको कर्म र त्यसबाट हुने प्रभावबारे खुलेर जानकारी गराउन सक्नुपर्ने बताउनुभयो । “हामी विभिन्न जिल्लाबाट आएर बसेका छौँ । ठाउँअनुसार भाषामा केही तलमाथि हुन्छ”, उहाँले भन्नुभयो, “त्यसको प्रभाव खेगीको वेदमा पनि देखिन्छ । हाम्रो जन्मदेखि मृत्युपछिसम्म चल्ने सांस्कारिक चलनको विषयमा राम्रोसँग बुझाउन नसक्दा कति गुरुङ आफ्नो संस्कार र संस्कृतिभन्दा बाहिर गइसकेका छन् । अब हामीले जोगाउने प्रयास गर्नुपर्छ ।”

    पैँडी गुरू ज्ञानबहादुर गुरुङले यस समुदायमा नभइ नहुने वर्ग, पार्क र मेवाबारे पूर्ण जानकारी राख्नु सक्नुपर्ने बताउनुभयो । यससम्बन्धी जानकार व्यक्तिले नयाँ पुस्तालाई बुझाउँदै पुराना मौलिक संस्कारलाई पुस्तान्तरण गर्नु आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार