बिहीबार , साउन २१ गते २०८३

पोखरी निर्माण र संरक्षणमा जुटे लहानका स्थानीय

पोखरी निर्माण र संरक्षणमा जुटे लहानका स्थानीय

सोमबार, भदौ २४ २०८१
  • पोखरी निर्माण र संरक्षणमा जुटे लहानका स्थानीय

    सिरहा । जलवायु परिवर्तनको असरले पानीको सतह गहिरिन थालेपछि पर्यावरणीय सन्तुलन कायम गर्न सिरहाको लहानका स्थानीय सक्रिय हुन थालेका छन् । सामुदायिक वनका सदस्य पनि पोखरी संरक्षणमा सक्रिय हुन थालेका हुन् ।

    पोखरी निर्माण तथा संरक्षणले एकातिर हिउँदमा भूमिगत पानीको पुनर्भरण हुने तथा अर्कोतर्फ पर्यटकीय आगमन हुन गई आयआर्जनमा सघाउ पुग्ने स्थानीयवासीको आशा छ । चुरेको फेदमा पर्ने लहान—१५ स्थित शोभापुरमा दुई वर्षअघि ‘कोइरालो खोला नमुना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘हात्तीदह’लाई पोखरीको रुप दिइएपछि अहिले रमणीयस्थल बन्न पुगेको छ ।

    करिब तीन हेक्टर क्षेत्रफलमा फैलिएको पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका छन् । पोखरी बनेपछि त्यस क्षेत्रका वरिपरिका बस्तीमा सुख्खायाममा पनि पानीको स्रोत बढेको कोइरालो खोला नमुना सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले बताए ।

    ‘सिमसार क्षेत्रलाई संरक्षण गरी ठूलो क्षेत्रफलमा पोखरी निर्माण गरिएपछि हिउँदामा पनि नजिकैका बस्तीमा भूमिगत पानीको सतह घटेन । पहिला पहिला ५०/६० फिट गहिरो इनार खन्दा पनि पानीको सतह भेटिन छोडेको थियो । तर, पोखरी निर्माणपछि ३०/३५ फिट मुनि पानीको स्रात देखापर्न थाल्यो’, अध्यक्ष चौधरीले भने, ‘पोखरी बनेपछि पर्यटकको आगमन हुने, व्यावसायिक ढङ्गले सञ्चालन गर्न सकिने, पानीका स्रोत बढ्ने, आगलागी र सुख्खायाममा त्यहाँको पानी प्रयोग गर्न सकिनेलगायत फाइदा पुगेको छ ।’

    हिँउदमा पानीको सतह घट्न नदिन आफ्नो सामुदायिक वनभित्र अन्य चारवटा पोखरी निर्माण गरिएका अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार करिब ६ हेक्टर क्षेत्रफल ओगटेका उक्त पोखरीमा सिञ्चित पानीले नजिकैका भेडियाटोल, मोहनपुर, शोभापुर, बसाजोरी, डाँडाँटोललगायतका बस्तीमा भूमिगत पानीको सतह घट्न पाएको छैन ।

    पूर्व–पश्चिम राजमार्गको उत्तरी क्षेत्र पर्ने चुरेको काखमा अधिकांश स्थानमा पानीको सतह सुकेर हाहाकार हुँदासमेत आफ्नो घरमा नियमित ट्युवेलमा पानी आएको स्थानीय हृदयनारयण महतोले बताए । उक्त सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गर्न डिभिजन वन कार्यालय लहान, वृहत जलाधार व्यवस्थापन कार्यलय उदयपुर, राष्ट्रपति चुरे संरक्षण विकास, लहान नगरपालिका, संघीय संसद्, १५ नं वडा लगायतको सहयोग रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

    पोखरीको सौन्दर्यकरण, विद्युतिकरण, पूर्वाधार निर्माण गरी पर्यापर्यटन प्रवद्र्धनका लागि सहयोग प्राप्त भएपछि ‘इको टुरिजम’ क्षेत्रको विकास गर्न सम्भव भएको उनको भनाइ छ । त्यसैगरी लहान—१५ स्थित बाबाजी खोला सामुदायिक वनले पनि विभिन्न सङ्घ संस्थाको सहयोगमा दुईवटा पोखरी निर्माण गरेको अध्यक्ष जागेश्वर चौधरीले बताए ।

    खाली जग्गामा पोखरी निर्माण गरी त्यसमा माछापालन तथा डुंगा सञ्चालन गरी आय–आर्जनसँग स्थानीयवासीलाई जोड्न सकिन्छ । मुहानमा वर्खाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ । बर्खाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम सुरु गरिएको उनले बताए ।

    जलवायु परिवर्तनको असर चुरे आसपसका बस्तीमा बढी परेको देखिन्छ । हरेक ठाउँमा पानीका मुहान बर्सेनि सुक्दै गएका छन् । पोखरीले जमिनमा पानीको रिचार्जको काम गर्दछन् । आहाल नै मासिएपछि जमिन रिचार्ज नै हुन नपाएर पानीका मूल मासिँदै गएको विज्ञहरु बताउँछन् ।

    उनीहरुका अनुसार बर्खाको पानी जम्मा गरी वरिपरीको जमिनलाई चिस्यानयुक्त बनाउन यस्ता पोखरीले रिचार्जको काम गरेको हुन्छ । यहाँका अन्य सामुदायिक वनमा पनि स्थानीय प्रयास र सरकारी तथा गैरसरकारी निकायको सहयोगपछि खुल्ला चौरमा परिणत भएका धेरै पोखरीको पुनर्उत्थान तथा सिमसार क्षेत्रको संरक्षण कार्य भइरहेको छ ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार