शुक्रबार, साउन २२ गते २०८३

प्रधानाध्यापकले सिकाएपछि स्कुलमा एक–आपसको कपाल काट्छन् विद्यार्थी

प्रधानाध्यापकले सिकाएपछि स्कुलमा एक–आपसको कपाल काट्छन् विद्यार्थी

बिहीबार , भदौ २७ २०८१
  • प्रधानाध्यापकले सिकाएपछि स्कुलमा एक–आपसको कपाल काट्छन् विद्यार्थी

    गाउँमा कपाल काटिदिने कोही पनि छैनन् । कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन् । पछिल्लो समय विद्यार्थी कपाल नकाटेर विद्यालय आउन थालेपछि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित नवजागरण माध्यमिक विद्यालय कुटिचौरका प्रधानाध्यापक टङ्क केसीले आफैँ विद्यार्थीको कपाल काट्न सुरु गर्नुभयो ।

    सुरु–सुरुमा आफैँले कपाल काटिदिने गरेसँगै उहाँले विस्तारै विद्यार्थीलाई कपाल काट्न सिकाउनुभयो । अहिले विद्यार्थीहरुले एक अर्काको कपाल काटिदिने गरेका प्रअ केसीले बताउनुभयो । “सुरुसुरुमा शिक्षकहरुले विद्यार्थीको कपाल काटिदियौँ”, उहाँले भन्नुभयो, “पछि विद्यार्थीलाई सिकायौँ, अहिले उनीहरुले एक अर्काको कपाल काटिदिने गर्छन् ।”

    प्रधानाध्यापक केसीका अनुसार दैनिक सातदेखि १० जनाको यसरी विद्यालयमा कपाल काट्ने गरिएको छ । यसले विद्यार्थीमा सरसफाइको बानी विकास हुनाका साथै सीप विकास पनि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीको कपाल काट्न मेसिनको व्यवस्था गरिएको भन्दै सोही मेसिनद्वारा कपाल काट्दा प्रविधमिा समेत केही ज्ञान हासिल हुने विश्वास लिइएको उहाँले उल्लेख गर्नुभयो ।

    “गाउँमा कपाल काटिदिने जनशक्तिको हभाव छ, न्यून आय भएका विद्यार्थी यस विद्यालयमा अध्ययन गर्ने भएकाले बजार गएर कपाल काट्न पनि सक्दैनन्”, प्रअ केसीले भन्नुभयो, “त्यसैले हामीले विद्यालयमा कपाल काटिदिने गरेका छौँ ।” लामो कपाल हुँदा विद्यार्थीलाई असहज हुने र सरसफाइ पनि नहुने भएकाले यस्तो कार्यको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने योजनामा विद्यालय प्रशासन रहेको प्रअ केसीले जानकारी दिनुभयो । विद्यालयले किताबी ज्ञान मात्रै नभइ आधारभूत सीप पनि सिकाउनुपर्ने भन्दै विद्यार्थीको आवश्यकता अनुसार कपाल काट्ने सीप सिकाइएको उहाँले बताउनुभयो । यस्ता सीपले विद्यार्थीको जीवन निर्वाहमा सहज बनाउने उहाँको बुझाइ छ ।

    “हामीले विद्यार्थीलाई किताबी ज्ञान मात्रै होइन्, आधारभूत सीप पनि दिनुपर्छ”, प्रअ केसीले भन्नुभयो, “यस्ता सीपले विद्यार्थीलाई जीवन निर्वाहमा पनि सहज बनाउने गर्छ ।” आवश्यकता अनुसार अन्य सीप पनि सिकाउने योजना बनाइएको उहाँले उल्लेख गर्नुभयो ।

    यो सीप सिकेर प्रयोग गर्न थालेपछि विद्यार्थी र अभिभावक पनि खुसी छन् । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा तीन सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा अहिले कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार