शुक्रबार, साउन २२ गते २०८३

व्यावसायिक रूपमा भैँसीपालन गरेर दही बिक्री गर्दा मासिक ३० हजारसम्म आम्दानी

व्यावसायिक रूपमा भैँसीपालन गरेर दही बिक्री गर्दा मासिक ३० हजारसम्म आम्दानी

आइतबार, भदौ ३० २०८१
  • व्यावसायिक रूपमा भैँसीपालन गरेर दही बिक्री गर्दा मासिक ३० हजारसम्म आम्दानी

    टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन । ठाउँ छैन अरु बसमा आउनु भन्दै चालक पन्छिए । गाउँका धेरैजसो किसान आफूले उत्पादन गरेको दही बिक्री गर्न घोराही बजार आउँदाको भोगाइ हो यो ।

    राजपुर गाउँपालिका–३ खर्दरियाका लक्ष्मण यादव ६० वर्षको हुनुभयो । उहाँ व्यावसायिक रूपमा भैँसीपालन गर्दै आउनुभएको छ । उहाँसँग रहेका २५ भैँसीले दूध दिन्छन । बाबुबाजेले भैँसीपालन गर्दै आउनुभएको थियो । त्यही रेखदेख गर्दागर्दै लक्ष्मण पनि भैँसीपालनलाई निरन्तरता दिँदै आउनुभएको छ । पच्चीस भैँसीले दिएको दूध बिक्री गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो ।

    खर्दरियामा यादव समुदायको झण्डै तीन सय घर छन् । हरेकको घरमा १० देखि २० वटासम्म भैँसी छन् । उत्पादन भएको सबै दूध गाउँमा बिक्री गर्न सम्भव छैन । उहाँहरुले बेलुकाको दूध जम्मा गरेर दही बनाउने र बजारमा बिक्री गर्ने गर्नुभएको छ । “घोराही पुग्नलाई रु एक सय भाडा लाग्छ । दैनिक रु दुई हजारदेखि रु दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ”, यादवले भन्नुभयो । दैनिक २५ लिटरसम्म दही बिक्री हुने र यसबाट मासिक रु ३० हजारसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

    यस्तै राजपुर गाउँपालिका–३ खर्दरियाका झाबु यादव ५० वर्षका हुनुभयो । उहाँसँग एक सयवटा दूध दिने भैँसी छन् । राजपुरबाट घोराही, तुलसीपुर, लमहीमा दही बिक्री हुने गरेको छ । भैँसीको दूध–दही बिक्री गरेर उहाँले छोराछोरी पढाउँदै आउनुभएको छ । “गाउँमा सबैको घरमा भैँसी छन् । भैँसी नभएकाले पनि सस्तो मूल्यमा किन्न खोज्छन्, त्यसैले गाउँमा दही बिक्री गर्न मन लाग्दैन”, यादव भन्नुहुन्छ, “राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेका छौँ ।”

    गाउँभरिका भैँसीपालक किसान दही बोकेर बिक्री गर्न बजार जाने गरेका छन् । गाउँघरमा प्रतिलिटर रु २०–२५ मा बिक्री हुने दही बजारमा पुर्यायो भने रु एक सयमा बिक्री हुन्छ । यसरी कमाएको पैसाले छोराछोरीको पढाइ खर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादव बताउनुहुन्छ । बिहानको दूध डेरीले लैजान्छन्, बेलुकाको दूध बिक्री गर्ने ठाउँ नहुँदा दही बनाएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । दूध राख्नलाई सरकारले डिपफ्रिजको सहयोग गरेमा दूध, दहीबाट आम्दानी गरेर जीविका चलाउन सकिने यादवले बताउनुभयो । दूध ट्रयाक्टरको व्यवस्थापन गरेमा आफूहरूलाई राहत मिल्ने उहाँको धारणा छ ।

    व्यावसायिक भैँसीपालनका लागि खरदरिया उपयुक्त स्थान मानिन्छ । यहाँका अधिकांश बासिन्दाले १० देखि एक सयवटासम्म भैँसीपालन गरेका छन् । भैँसीको दूध बिक्रीबाट आएको आम्दानीले छोराछोरी पढाउने र घरखर्च चलाउन सहज भएको छ । सोही ठाउँका भैँसीपालक किसानले गोठ सुधार, घाँस काट्नलाई चारामेसिन, बीउका लागि उन्नत जातको रागा र दूध सङ्कलनका लागि डेरीको माग गरेका छन् । परापूर्वकालदेखि भैँसीपालनबाट जीविका चलाउँदै आएका यादव समुदायले सरकारको सहयोग भएमा व्यवस्थित तरिकाले भैँसीपालन गर्ने सोच बनाएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार